झापामा घरभित्रै वृद्धा मृत फेला

लोकपथ
195
Shares

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर-४ स्थित कालिका टोलमा एकजना वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन् । ६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

मंगलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै उनले काठमाडौंमा भएका छोरा प्रकाश विष्टलाई फोन गरेकी थिइन् । आमाको फोनपछि प्रकाशले छिमेकी श्रीप्रसाद सिटौलालाई गएर आफ्नो घर हेरिदिन भन्दै फोन गरेका थिए ।

छिमेकीहरू भेला भएर केहीबेर कुरा गरेपछि उनीहरू आआफ्नो घरतिर लागेका थिए । छिमेकीहरू गइसकेपछि मृतक पनि घरभित्र सुतेको स्थानीयले बताए ।

बिहान अबेरसम्म पनि उनी नउठेपछि स्थानीयहरू आएर हेर्दा गेटमा ताला लागेको तर घरको गेट भने खुल्लै अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव खाटभन्दा तल भुइँमा कोल्टे परेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनको हत्या भएको आशंका गरिएको छ ।

उनको छोरा इन्द्र अमेरिका र प्रकाश काठमाडौँमा रहेकाले  घरमा मृतक एक्लै बस्दै आएकी थिइन् । घटनाको थप अनुसन्धानका लागि घटनास्थल सुरक्षित राखी धरानबाट कुकुर बोलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?