सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, टेक अफ हुनुभन्दा ९० मिनेट अगाडि उडान रोकियो

लोकपथ
390
Shares

काठमाडौं । भारतीय मूलकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित भएको छ ।

सुनिता विलियम्स मंगलबार तेस्रो पटक अन्तरिक्ष यात्रामा जाने कार्यक्रममा प्राविधिक समस्याका कारण उडान रोकिएको थियो । सुनिताले भारतीय समय अनुसार बिहान ८ : ०४ बजे बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा फ्लोरिडाको केप कर्नवालस्थित केनेडी स्पेस सेन्टरबाट उडान भर्ने कार्यक्रम थियो । तर, टेकअफ हुनुभन्दा ९० मिनेटअघि वैज्ञानिकहरूले अन्तरिक्ष यानको अक्सिजन भल्भमा प्राविधिक त्रुटि फेला पारेपछि उडान रोकिएको थियो । सुनिता विलियम्ससँगै नासाका वैज्ञानिक ब्यारी विल्मोर पनि बोइङको अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जाँदै थिए । नयाँ प्रक्षेपण मिति भने अझै घोषणा गरिएको छैन।

सुनिताले ३२२ दिन अन्तरिक्षमा बिताएकी छिन् । उनले सबैभन्दा धेरै घण्टा अन्तरिक्षमा हिँड्ने महिला वैज्ञानिकको कीर्तिमान राखेकी छिन् । विलियम्स पहिलो पटक डिसेम्बर 9, 2006 मा अन्तरिक्षमा गएकी हुन् र जुन 22, 2007 सम्म अन्तरिक्षमा रहिन्। सुनिता विलियम्सले कीर्तिमानी २९ घण्टा १७ मिनेटसम्म चार पटक स्पेसवाक गरिन् ।

यसपछि, सुनिता विलियम्स दोस्रो पटक 14 जुलाई 2012 मा अन्तरिक्ष यात्रामा गइन् र 18 नोभेम्बर 2012 सम्म अन्तरिक्षमा रहिन्। ५९ वर्षीया सुनिता विलियम्सले उडानअघि आफू अलिकति नर्भस भएको तर नयाँ अन्तरिक्ष यानमा उड्नका लागि उत्साहित भएको पनि बताएकी थिइन् । विलियम्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन उनको लागि दोस्रो घर जस्तै भएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?