दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने जोखिम

लोकपथ
169
Shares


काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय तहको रंगशाला दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने खतरा बढेपछि अहिले सरोकारवाला निकायहरु जुर्मुराएका छन् ।

यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अयोग्य भनेर एशियाली फुटबल क्लब (एएफसी) ले फिफा विश्वकप छनोटको खेल खेलाउन नमानेपछि सक्रियता ती निकायले सक्रियता देखाएका छन् ।

जसको फलस्वरुप बहराइनसँगको ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा भए । अब युएईसँग जुन ६ तारिख (जेठ २४) मा हुँदैछ । त्यसका लागि दशरथ रंगशालाको अनुगमन गर्दा यस पटक पनि चित्त बुझ्दो जवाफ नआएको बुझिएको छ ।

जसका कारण युएईसँगको खेल काठमाडौंमा नभइ उतै हुने सम्भावना पनि बढेको छ भने नेपालको दशरथ रंगशालाको स्तर अन्तर्राष्ट्रिय मापदण्डको नभएपछि अन्तर्राष्ट्रिय मान्यता किन नखोस्ने भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्राचार भएपछि अहिले सरोकारवाला निकायहरु चिन्तित देखिएका छन् ।

बहराइनसँगको खेल सार्नपर्दा आलोचित बनेको एन्फा फेरि युएईसँगको खेलले दबाबमा आएको छ । एन्फाका महासचिव किरण राईले एफसीबाट पत्र आएको बताउँदै उनीहरुले सोधेका प्रश्नको जवाफ दिने तयारीमा रहेको सुनाए । खास गरेर एफसीले दशरथ रंगशालाको मैदान (पीच), फ्लर्ड लाइट र सुरक्षा व्यवस्थाको विषयमा जानकारी मागेको छ ।

सानातिना प्रतियोगिता आयोजना गर्न दिएर दशरथ रंगशाला विग्रिएको गुनासो छ । तर, सबै दोष एन्फालाई भन्दा पनि रंगशालाको जिम्मा लिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि लिनुपर्ने एन्फाकै पदाधिकारीहरु बताउँछन् ।
पहिला फुटबल संघको मातहतमा रहेको मैदान अहिले राखेपले आफैं जिम्मा लिएको छ । बहराइनसँगको खेल नेपालमा रद्द भएपछि मैदान राखेपले संरक्षण गरेर खेल्न योग्य बनाउने लक्ष्यका साथ एन्फाबाट खोसेको थियो । पहिला पनि फुटबलका गतिविधिमा मात्रै एन्फाले जिम्मा लिएपनि अन्य प्रयोजनका लागि राखेपको अनुमति अनिवार्य मानिन्छ ।

अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा नेपालमा बामेसर्दै गरेको ‘रग्वी’ खेल खेलाएपछि पीचमा समस्या आएको बताइन्छ । यसैगरी, विद्यालयका साना इभेन्टका लागि दैनिक भाडामा लगाउने, सांगीतिक कन्सर्टहरु आयोजना गर्नका लागि अनुमति राखेपले नै दिँदै आएको छ ।

यसअघि राष्ट्रपति रनिङ सिल्ड पनि यही मैदानमा भएको थियो । जसका कारण अहिले एफसीले सोधेका प्रश्न र समाधानका उपायका साथ सरोकारवाला निकायहरु युवा तथा खेलकुद मन्त्रालय, एन्फा र राखेप अघि बढ्नुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

एफसीले मैदान बाहिरको सुरक्षाको कुरा पनि उठाएको छ । कुनै भवितव्य पर्यो भने प्यारापिटबाट दर्शकहरु कसरी सुरक्षितरुपमा बाहिर निस्कने भन्ने कुराको पनि जवाफ खोजिएको छ ।

एफसीले एन्फालाई सोधेको प्रश्नको जवाफ एन्फाले पनि रंगशालाको जिम्मा लिएको निकाय राखेपसँग माग गरेको छ । तर, सुरक्षाको रिपोर्ट अहिलेसम्म नबनाएको र तत्काल दिने सम्भावना नभएको जवाफ एन्फालाई राखेपले दिएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गराउने र दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता जोगाउनका लागि आज खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीले छलफल गर्न लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?