नाकाको हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीले पाएनन् ९ महिनादेखि तलब

लोकपथ
26
Shares

दोधारा चाँदनी । कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले ९ महिनादेखिको तलब पाएका छैनन् ।

नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन् । गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गरिन् ।

‘साउनदेखि तलब पाएका छैनौँ, अब त खर्च चलाउनसमेत गाह्रो भइसक्यो’, धामीले भनिन्, ‘तबलको कुरा गर्दा बजेट पास भएको छैन, काम गर्दै गर्नुस् भनेको ९ महिना भइसक्यो ।’ गड्डाचौकी हेल्थ डेस्कमा ११ स्वास्थ्यकर्मी कार्यरत छन् ।

लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मी आइतबारदेखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् । ‘हामीले पटकपटक माथिल्लो निकायमा जाहेर गर्दा पनि हाम्रो समस्या समाधान हुन नसकेपछि बाध्य भएर हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छौं’, उनले भनिन्, ‘अब पनि हाम्रो पारिश्रमिक आएन भने आउँदो जेठ १ गतेदेखि सेवा नै बन्द गर्छौं ।’ उनले स्वास्थ्य कार्यालय र जिल्ल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताइन् ।

हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले पारिश्रमिक मात्रै होइन करार पनि थप नभएको बताए । ‘काम गर्दै गर्नुस् करार थपिन्छ भन्छन्, न करार थपिन्छ, न पारिश्रमिक आउँछ’, भट्टले भने, ‘महिनौँदेखि तलब नपाउँदा दैनिकी चलाउन समस्या भइसक्यो ।’

गड्डाचौकीस्थित हेल्थ डेस्कका इञ्चार्ज प्रेमसिंह भण्डारीले बजेट अभाव देखाएर स्वास्थ्यकर्मीको तलब नआएको बताए । ‘माथिल्लो निकायमा जाहेर गर्दा बजेट निकासा भएको छैन भन्ने जवाफ आउँछ’, भण्डारीले भने, ‘स्वास्थ्यकर्मीले तलब नपाएपछि सेवा नै बन्द हुने अवस्थामा पुगेको छ ।’ उनले स्वास्थ्यकर्मीले एक साता हातमा कालोपट्टि बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाइ नभए सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् ।

सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकीसँगै बैतडीको झुलाघाट र दार्चुलामा गरी चार स्थानामा हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्क स्थानीय तहहरुले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको छ ।

विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमका चार वटै हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मी २७ जना छन् । स्वास्थ्यकर्मीले साउनयता तलब नपाएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड स्थानीय स्रोत व्यक्ति हेमराज जोशीले बताए ।

‘सङ्घीय सरकारबाट बजेट निकासा नहुँदा साउनयता तलब दिन सकिएको छैन’, जोशीले भने, ‘बजेट निकासाका लागि अर्थ मन्त्रालयमा फाइल अगाडि बढाएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?