काठमाडौंका विद्यालयमा धुम्रपान तथा सुर्तीजन्य दुर्व्यसनीविरुद्ध अभियान

लोकपथ
26
Shares


काठमाडौं । काठमाडौंका वालबालिकाहरुलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरुमा सचेतना अभियान सुरु भएको छ । युवा सृजनशील समाजले एकसातादेखि उक्त अभियान संचालन गरिरहेको छ ।

समाले बुद्धनगर आधारभुत विद्यालय, रत्नराज्य हाइस्कुल, मध्यबानेश्वर, रुद्रमति स्कुलमा धुम्रपान तथा सुर्तीजन्य दुर्व्यसनीविरुद्ध सचेतना मुलक अभियान संचालन गरिसकेको समाजकी अध्यक्ष शारदा लामाले जानकारी दिइन ।

कार्यक्रममा गणेशमान सिंह मेमोरियल अस्पतालका डा.आदित्य रंजितले धुम्रपान र सुर्तीसेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायतका रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीमार्फत घरघरमा सन्देश पु-याउनुपर्ने बताए ।
धुम्रपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभइकन सिंगो परिवारलाई र आफू आसपासका व्यक्तिलाई समेत सुर्तीको धुवाँबाट असर गरेर विरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्नुपर्ने धारणा राखे ।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल,नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा वढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घ रोग लाग्ने जानकारी दिए ।

सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका वालवालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको १ सय मिटर वरपरसम्म सुर्ती बेचविखन र सेवन गर्न प्रतिवन्ध लगाएको हुँदा विद्यार्थीहरुले स्थानीय तह, प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने बताए ।

सुर्ती सेवनबाट दैनिक ७३ जनाको ज्यान गइरहेको र सुर्तीको धुवाँमा वर्षेनी ४७ अर्ब रुपैयाँ उडिरहेको हुँदा सुर्तीलाई नियन्त्रण गर्नुपर्ने धारणा उनले राखे ।

अध्यक्ष लामाले सुर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थीहरु यसबाट टाढा रहनुपर्ने दृष्टान्त पेश गरिन् । उनले सुर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभइ भविष्यका कर्णधारहरुको जीवन नै खतरामा पार्ने भएकाले कसैंले भन्दैमा उक्साउँदैमा सुर्ती सेवन त के खरिदसम्म पनि गर्न नहुने स्पष्ट पारिन् ।

काठमाडौं महानगर पालिका वडा नं १० का जनप्रतिनिधि रोहिणी श्रेष्ठले धुम्रपान निषेध गर्न वडा आफै पनि सक्रिय भएर लाग्ने र यसमा सवैको साथ अनि सहयोग आवश्यक रहेको बताइन् । बुद्धनगर आधारभुत विद्यालयका अध्यक्ष श्याम तण्डुकारले विद्यालय वरपरको क्षेत्रलाई सुर्तीमुक्त बनाउँदै लानुपर्ने आवश्यकतामाथि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?