नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडीबुटी निकासी

लोकपथ
52
Shares

बाँके । जडीबुटी निकासीको प्रमुख नाकाका रूपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ ।

विभिन्न समस्या र अवरोधका बाबजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माका अनुसार निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको कठिनाइका कारण व्यवसायीले नौ महिनामा रु ७० करोडको जडीबुटी निकासी गर्न सफल भएका छन् ।

नेपाली जडीबुटीप्रति भारतको झन्झटिलो प्रक्रिया र नेपाल सरकारको अस्पष्ट नीतिका कारण जडीबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षदेखि पुनः उकालो लाग्ने सङ्केत देखिन थालेको अध्यक्ष शर्माले बताए ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८०/८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट रु ७० करोड ६२ लाख ३५ हजार मूल्य बराबरको २८ लाख पाँच हजार आठ सय ३९ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको हो । गत आव २०७९/८० को चैत मसान्तसम्म यो नाकाबाट ७० करोड ९६ लाख १० हजार मूल्यको जडीबुटी निकासी भएको थियो ।

कर्णाली प्रदेशलगायतका पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज प्रमुख ट्रान्जिट हो । नेपालगञ्ज हुँदै भारतलगायत विभिन्न देशमा जडीबुटी निकासी हुँदै आएको छ । यो नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ । औषधि, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेस्रो मुलुकमा पनि निर्यात भइरहेको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।

कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा त्यहाँबाट खरिद गरी व्यवसायीले विदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडीबुटी व्यवसायीले विगत केही वर्षदेखि विभिन्न झन्झट बेहोर्नुपरेकाले समस्या हुँदै आएको जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?