एक बर्षभित्र सवारी कर र नामसारी घरबाटै गर्न सकिने

लोकपथ
156
Shares


काठमाडौं । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रदेश यातायात कार्यालयको डिजिटलाइजेसनका लागि काम अघि बढाइरहेको बताएका छन् ।

आइतबार ‘दुर्घटना न्यूनीकरण सवारी नियम र यात्रुप्रति हाम्रो दायित्व’ विषयक अभमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले एक वर्षभित्रै सवारी नामसारी र कर तिर्ने प्रयोजनका लागि कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने बताए ।

उनले भने, ‘अब हामी नीजि सवारी साधनको कर पनि अनलाइनबाटै तिर्ने बनाइरहेका छौं । हामीले यातायात कार्यालयको डिजिटलाइजेसन गर्नका लागि काम अगाडि बढाइसकेका छौं । सम्भवतः एक वर्षभित्र सवारी नामसारी गर्ने र कर तिर्ने प्रयोजनको लागि कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्छौ । यसो गर्दा यातायात सेवा सजिलो र व्यवस्थित हुँदै जानेछ ।’

सवारी चालकले कहिल्यै पनि दुर्घटना होस भन्ने नचाहँदा नचाहँदै हुने गरेको उल्लेख गर्दै मन्त्री लम्सालले दुर्घटना न्यूनीकरणका लागि सबै पक्षले कर्तव्य पालनामा कडाइ गर्नुपर्ने बताए ।

उनले यात्रा गर्दा सवारी चालक र सहचालकबाट दुव्र्यवहार भएको भनि गुनासो गर्नेहरु बढिरहेको भन्दै यातायात सेवासँग सरोकार राख्ने सबै पक्ष सचेत हुनुपर्ने बताए ।
उनले भने, ‘अर्को कुरा बसमा सवार गर्दैगर्दा मान्छेहरु दुर्व्यवहार भएको भन्दै व्यक्तिगत रुपमा गुनासा लिएर आउनुहुन्छ । सवारी चालकले पनि ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको भन्दै गुनासो गर्छ । समस्या एक ठाउँमा मात्र छैन । यसलाई साँझा रुपले समाधान गर्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?