सांसद किसान श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री वितरण

काठमाडौं । प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान)ले बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर १ चिलझपटी गाउँका आगलागी पीडितलाई राहत सामग्री वितरण गरेका छन् । श्रेष्ठले आफ्नो पहलमा आगलागी पीडितका लागि दैनिक उपभोग्य खाद्यान्नलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएका हुन् ।

गत बिहिबार भएको आगलागीबाट चिलझपटी गाउँका चारवटा घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । उक्त घटनामा सांसद श्रेष्ठ दुःखसमेत व्यक्त गरे । ‘ बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर–१ चिलझपटी गाउँमा गत बिहिबार आगलागीबाट चार घर जलेर नष्ट भएको खबरले मर्माहत भएको छु,’ प्रतिकुल स्वास्थ्यस्थितिका कारण पीडितसामु पुग्न नसकेको बताउँदै सांसद श्रेष्ठ भन्छन्, ‘मेरै निर्वाचन क्षेत्रमा यति ठूलो घटना हुँदा पनि प्रतिकुल स्वास्थ्यस्थितिका कारण जनताको दुःखमा उपस्थित हुन नसक्दा झनै दुखित बनेको छु । यसका लागि क्षमाप्रार्थी छु ।’

सांसद श्रेष्ठले आगलागी पीडितको स्थायी आवास निर्माणका लागि दिलो ज्यानले लाग्ने प्रतिवद्धतासमेत गरेका छन् । ‘पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि दिलो ज्यान दिएर लाग्नेछु,’ उनले भनेका छन्, ‘स्वास्थ्यलाभ गरेपछि आगलागी पीडितको पीडामा थप मल्हमपट्टी लगाउन आउने बाचा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?