सहिद भीमनारायण गोल्डकपमा तीन नयाँ अभ्यास

लोकपथ
52
Shares

धनकुटा । आइतबारदेखि धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा सुरु हुन गइरहेको सहिद भीमनारायण गोल्डकपको १६औँ संस्करणमा आयोजकले तीन वटा नयाँ अभ्यास सुरु गर्ने भएको छ ।

आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा आयोजकले उक्त नयाँ अभ्यासका विषयमा जानकारी गराएको छ । अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप गर्दै आएको प्रतिष्ठानले यो पटकबाट अन्तर्राष्ट्रिय आमन्त्रण हटाएर गोल्ड कप मात्र राखेको छ ।

यसले नेपाल र स्थानीयस्तरका राम्रा क्लब र खेलाडीलाई प्रतियोगितामा सहभागी हुने प्रेरणा मिल्ने आयोजकको अपेक्षा छ । यसको अर्थ प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीलाई समावेश नगर्ने भन्ने नरहेको आयोजक समितिका संयोजक शम्भु प्रधानले स्पष्ट पारे ।
“अन्तर्राष्ट्रिय भन्नेबित्तिकै यहाँका राम्रा क्लब र खेलाडी वञ्चित हुने जस्तो देखियो”, उनले भने, “प्रतियोगिता फ्लेक्जिबल बनाउन हामीले अन्तर्राष्ट्रिय आमन्त्रण हटाएका हौँ ।” त्यस्तै आफ्नो टिम मजबुत बनाउन आयोजक टोलीले यो पटकबाट टिममा आठ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समावेश गर्ने भएको छ ।

खेललाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन यसपटक खेलाडी समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए । दर्शकको गुनासो आएपछि १५ औँ संस्करणसम्म सःशुल्क टिकटको व्यवस्था गरेको प्रतिष्ठानले यो पटकबाट निःशुल्क खेल हेर्ने व्यवस्था गरेको छ । धनकुटा नगरपालिकाको सहयोगमा निःशुल्क खेल हेर्ने व्यवस्था गरिएको प्रतिष्ठानकाका सचिव रोशन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने, “टिकट बेचेर प्याराफिट भरेरमात्र खेल सुरु गर्नुपर्ने हाम्रो बाध्यता र आमनागरिकको सुझावमा हामीले निःशुल्क खेल हेर्ने व्यवस्था गरेका हौँ ।” यस कार्यलाई आयोजकले नगर तथा जिल्लावासीको खेलप्रतिको धारणा बुझ्ने अवसरका रुपमा लिएको श्रेष्ठले बताए ।

२९ गतेसम्म हुने प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, फोर स्टार क्लब मोरङ, त्रिभुवन आर्मी क्लब काठमाडौँ र विर्तामोड युनाइटेड क्लब झापा सहभागी हुनेछन् । यस्तै राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी क्लब आयोजक धनकुटा, सहलेस युथ क्लब सिराहा सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछन् । विसं २०५५ देखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ ।

तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा भीमनारायण श्रेष्ठलाई २०३५ सालमा मृत्युदण्ड दिइएको थियो । सरकारले २०७४ सालमा सहिद घोषणा गरेको श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?