उपनिर्वाचनपछि देखिएको हार्दिकता : ‘बधाई सुहाङ, बधाई एमाले !’

लोकपथ
416
Shares


इलाम । इलाम २ को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका एमालेका सुहाङ नेम्वाङ र कांग्रेसका डम्बर खड्काले बधाई साटासाट गरेका छन् ।

खड्काले खादा लगाएर नेम्वाङलाई बधाई मात्र दिएनन् राम्रो काममा सहयोग गर्ने बाचापनि गरे । खड्काले भने,‘इलामको विकास निर्माण, इलामेलीको भरोसा जोगाउनु । नयाँ हुनुहुन्छ, मेरो पनि तपाईको राम्रो कामलाई साथ सहयोग रहन्छ ।’ त्यस्तै सुहाङले पनि हरेक तह र तप्काबाट सहयोग गर्न याचना गरे ।

बैशाख १५ गते उपनिर्वाचनका क्रममा भएको मत परिणाम विजयी भएपछि सुहाङ बधाई ग्रहण गर्न व्यस्त छन् । सोही क्रममा शुक्रबार दुई प्रतिस्पर्धीबिच भेट भएको थियो ।

डम्बर र सुहाङले शुभकामना आदनप्रदान गरेको फोटो धेरै शुभेच्छुकले सामाजिक संजालमा शेयर गरेका छन् । दुई प्रतिस्पर्धीबिच देखिएको हार्दिकता असल राजनीति संस्कारको नमूनाका रुपमा हेरिएको छ ।

एकजना शुभेच्छुक शीलत कार्कीले दुईबिचको हार्दिकतालाई लोकतान्त्रिक संस्कारको गतिलो उदाहरण भनेका छन् । उनले लोकतन्त्रमा हारलाई सहर्ष स्वीकार्न सक्यो भने मात्रै लोकतन्त्र बलियो हुने बताए ।

खड्कासँग निकट रहेर काम गरिरहेका शिव थापाले यस्तो शालिनता अनि हार्दिकताको राजनीतिक संस्कार विकास हुनु राम्रो कुरा भएको बताउँदै सार्वजनिक भएको तस्विरबाट उच्च संस्कार, समाजिक सद्भाव, स्नेह प्रष्ट झल्किने बताए ।

यसअघि सोही तस्विर सार्वजनिक गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङलाई बधाई दिएका थिए । उनले भने,‘लोकतन्त्रको यो आत्मा र यो सौन्दर्यलाई जगाउनु र जोगाउनु हामी सबैको जिम्मेवारी हो ।’

‘बधाई सुहाङ नेम्वाङ, बधाई नेकपा एमाले !’ महामन्त्री शर्माले लेखेका छन् । शर्मालेले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङलाई समेत स्मरण गर्दै ‘पिताकोझैँ सालिनता, निष्ठा र निरन्तरता रहिरहोस्, सुहाङलाई शुभकामना र शुभेच्छा ।’

वैशाख १५ मा इलाम २ को उपनिर्वाचन तुलनात्मक रुपले स्वस्थ र मैत्रीपूर्ण रूपमा सम्पन्न त भयो नै, परिणामपछि पनि मुख्य प्रतिस्पर्धी दल र उम्मेदवार बीच हार्दिकता जिवन्त रहेको धारणा शर्माले राखेका छन् ।

वैशाख १५ गते भएको उपनिर्वाचनमा सुहाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार खड्का २१ हजार ९४२ मतसहित उपविजेता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?