थाक्रे गाउँपालिकाको एक घरमा आगलागी हुँदा दम्पतीको मृत्यु

लोकपथ
78
Shares

धादिङ । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।

गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठुली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले राससलाई बताए । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ ।

‘राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो,’ प्रहरी उपरीक्षक केसीले भने ।

यसैबिच गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन् । गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन् ।

आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको उनले बताए । पालुङटार नगरपालिका–९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ । गोठमा बाँधेको एउटा गाई पनि मरेको छ ।

यस्तै, नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ठूलोरिपका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराएको छ । आगलागीबाट घर र गोठमा क्षति पुगेका परिवारलाई आपत्कालीन सहयोग उपलब्ध गराइएको शाखाका कार्यालय प्रमुख सुवास घिमिरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?