सिड्नीमा ‘महाजात्रा’ ले राख्यो कीर्तिमान

लोकपथ
0
Shares

काठमाडौं । नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले कीर्तिमान कायम गरेको छ । यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शो र ‘कबड्डी ४’ ले बनाएको २९ शोको रेकर्ड तोड्दै ३५ शो सम्पन्न भएसँगै ‘महाजात्रा’ ले नयाँ रेकर्ड बनाएको हो । डायस्पोरा वितरक कम्पनि एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङले फिल्मको लोकप्रियताले यो सम्भव भएको जनाएका छन् ।

सिड्नी प्रदर्शक रोटेपिङका रोशन भट्टराईका अनुसार फिल्मको माग अझै छ । ‘सिड्नीमा अघिल्लो सबै रेकर्ड आजदेखि तोडेको छ । महाजात्राले सिड्नीमात्र नभई अष्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउने छ । पछिल्लो समय खडेरी झैँ भएको बजारलाई हराभरा बनाउन फिल्मको भूमिका प्रशंसनीय छ’, प्रदर्शक भट्टराईले भने ।

डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार सिड्नीमा मात्र नभई अमेरिका, क्यानाडा, युरोप अन्तर्गतका देशहरू, मध्यपूर्वका देशहरू, बेलायतलगायतका देशमा समेत नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । उक्त कम्पनिक अनुसार एघार करोड बढीको व्यापार भारत बाहेकका डायस्पोरामा भएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ नेपालमा छैटौँ सातामा विश्वभर प्रदर्शन भइरहेको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले नेपालमा सोह्र करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?