नवलपुरको वनमा लागेका डढेलो नियन्त्रण बाहीर

लोकपथ
117
Shares

नवलपुर । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले जिल्लामा दैनिक सरदर १५ देखि २० ठाउँमा वन डढेलो लाग्ने गरेका जानकारी दिए ।

बढ्दो गर्मी, तातो हावासँगै चालु आर्थिक वर्षमा एक सयभन्दा बढी सामुदायिक वनमा डढेलो लागेको उनले जानकारी दिए । ‘नवलपुरमा ८० प्रतिशतभन्दा बढी सामुदायिक, मध्यवर्ती, कबुलियतीलगायतका समुदायमा आधारित वन छन्, तीमध्ये एक सयभन्दा बढी सामुदायिक वनका २ हजार ५ सय ५३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ’, लम्सालले भने, ‘अहिलेसम्म मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा रहेका वन सबैभन्दा बढी प्रभावित भएका छन् ।’

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका सचिव सुशील पौडेलले वन डढेलोका कारण जंगलको बीचमा र जंगलनजिक रहेका गाउँहरू जोखिम रहेको बताए । मानवीय सचेतनाको अभावका कारण वन डढेलोका घट्ना बढदै गएकाले सचेतना अभिवृद्धिमा जोडदिनुपर्ने उनको भनाइ छ ।

‘डढेलो लगाएपछि वनमा च्याउ उम्रिन्छ, किर्ना मर्छ, नयाँ पालुवा पलाउँछ भनेर बढीमात्रामा जंगलमा डढेलो लगाउने गरेको पाइएको छ । यस्तो सोचाइमा परिवर्तन ल्याउनका लागि राज्यलगायत सबै सरोकारवाला जिम्मेवार बन्न आवश्यक छ’, पौडेलले भने ।

पहाडी क्षेत्रमा बाटोको सहज पहुँच नभएकाले स्याउला र माटोकै भरमा वन डढेलो निभाउनुपर्ने बाध्यता रहेकाले पनि नियन्त्रणमा चुनौती रहेका वन अधिकृत लम्सालको भनाइ छ । नागरिकतहसम्म सचेतनाका कार्यक्रम लिएर जाने, अग्निरेखा बनाउने, गर्मी मौसम सुरू हुनुअघि नै जंगलका पातपतिंगर झिक्न सके डढेलाका घटनामा कमी ल्याउन सकिने स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?