दाइजो प्रथा विपन्न परिवारका लागि बोझ: नेपाल

सर्लाही–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मधेशमा विपन्न परिवारका लागि दाईजो प्रथा बोझ भएको बताउनुभएको छ ।

हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहास्थित सार्वजनिक माध्यमिक विद्यालयमा आज आयोजना गरिएको ईद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले दाइजो प्रथा मधेशका लागि अभिशाप भएको बताउनुभयो ।

    उहाँले दाइजो प्रथालाई हटाई शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले दाइजो प्रथा हटाउन सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रुपमा लाग्नुपर्ने धारणा राख्नुभयो । “दाईजो प्रथा मधेसका विपन्न समुदायको बोझका रुपमा रहेको छ, दाइजोकै कारण अहिले छोरीहरुलाई जन्मै नदिई गर्भमै मार्ने पनि गरिएको छ, दाइजोमा लाग्ने पैसा छोरीको शिक्षामा लगायौँ भने उनको जीवन सुन्दर बन्न सक्छ”, उहाँले भन्नुभयो ।   
 
    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले जुन जातमा बढी दाइजो प्रथा छ, त्यसको पहिचान गरी सबै मिलेर हटाउनुपर्नेमा जोड दिनुभयो । नेता नेपालले देशलाई समृद्ध बनाउन युवाले आफ्नै देशमा मिहिनेत गर्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँठाउँमा मेहिनत गरेर व्यावसायिक खेतीमा लाग्नुपर्ने उहाँले सुझाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?