रुसी सेनामा गएका परिवारजनको उद्दारको माग गर्दै अनशन

लोकपथ
52
Shares


काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले आफन्तको उद्दारको माग राख्दै सामूहिक अनशनलाई जारी राखेका छन् ।

शुक्रबारदेखि काठमाडौंको माइतीघरमा सुरुभएको अनशन अहिले रत्नपार्कनजिकै शान्तिवाटिकामा जारी छ । उनीहरुले दबाब बढाउनको लागि बालुवारटारस्थित रुसी राजदूतावास अगाडि पुगेर पनि अनशन गरिसकेका छन् ।

उक्त अनशनमा रहेकी पीडित कृतु भण्डारीले नौ दिनदेखि आमरण अनशनमा बसेपनि सरकारको तर्फबाटै केही पनि प्रतिक्रिया नआएको बताइन् ।

उनले भनिन्, ‘सरकार पक्षको तर्फबाट केही पनि प्रतिक्रिया आएको छैन । हामी आशावादी छौं । जबसम्म हाम्रो मागहरु सम्बोधन हुँदैन तबसम्म यहीं रहन्छौ । जस्तो अवस्था आएपनि हाम्रो अनशन तोड्ने छैनौं ।’

रुसी सेनामा रहेका ६९१ जनाको विवरण संकलन गरेको भन्दै चार सयभन्दा बढि मानिस सम्पर्कमा रहेको र अरु सम्पर्क बिहिन रहेको भण्डारीले जानकारी पनि दिईन् ।

उनले भनिन्, ‘रुसमा रहेका ४ सयभन्दा बढि मानिस मसँग प्रत्यक्ष सम्पर्कमा छन् । उनीहरुले पनि दलालले प्रलोभनमा पारेर रुसमा लगेको भन्दै छिटोभन्दा छिटो उद्दार गर्न माग गरिरहेका छन् ।

२ हजारभन्दा बढि परिवार हामीसँग सम्पर्कमा छन् । हामीले विवरण पनि संकलन गरेका छौं । त्यसमा ६९१ जनाको विवरण संकलन भएको छ, ती मध्ये ३९ मृतक, ४० जना मृत्यु भयो भनिएको तर पुष्टि हुन बाँकी, ११७ जना घाइते, २७२ जना लामो समय परिवारको सम्पर्कमा नआएको छन् । १५ जना व्यक्तिहरु करार सम्झौता रद्ध गरेर बसेका छन् । त्यो बाहेकका व्यक्ति सम्पर्कमा छन् ।’

तीन जनाले आमरण अनशन जारी राखेका छन् भने ६० जना अन्य रिले अनशनमा सहयोग गरिरहेको भण्डारीले बताईन् ।
यस्तै, अर्का पीडित किसन थापाले भनेजति र देखेजति सबै निकायमा गएपनि प्रभावकारी काम हुन नसकेको गुनासो गरेका छन् ।

उनले भने, ‘नौ दिन भईसक्यो पानी पनि नखाई बसेको । भनेजति र देखे जति सबै निकायमा गइसकेको छु । कुनै बाँकी रहेको छैन, त्यही पनि केही गरेको जस्तो देखिँदैन ।’

उनीहरूले सेनामा भर्ती भएकाहरूको उद्धार, रुसी सेनामा रहेका नेपालीको तथ्यांक सार्वजनिक, युद्धमा घाइते नेपालीको उचित उपचार, युक्रेनको कब्जामा रहेका पाँच नेपालीको उद्दार, मृतकको शव ल्याउन र क्षतिपूर्तीसहित रुसी सेनाबाट प्राप्त गर्ने सबैखाले सेवा सुविधा नेपाल ल्याउन व्यवस्थालगायतका विभिन्न १३ बुँदे माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?