गायक लामाले आफ्नो २० प्रतिशत आम्दानी समाज सेवामा खर्चिने

लोकपथ
0
Shares

काठमाडौँ । गायक विजय लामाले ‘याङ्गजीन साङ्गे’ नामक फाउण्डेसन संचालनमा ल्याएका छन् । फाउण्डेसन संचालनमा ल्याएर समाजसेवामा लागेका गायक लामाले आफुले देश विदेशमा हुने सांगीतिक कार्यक्रमबाट आर्जन गरेको पारिश्रमिकबाट २० प्रतिशत फाउण्डेसनका लागि छुट्याउने बताएका छन्।

‘नखानु पानी तोङबाको’, ‘उँभो उँभो लेकमा म जाँदा’, ‘रोसी खोला पारी मेरो मामा’, ‘माया है बस्ला रसैले’लगायतका कैयौँ हिट गीतका गायक लामाले स्वर्गीय दिदी र भान्जाको नाममा फाउण्डेसन संचालनमा ल्याएको बताए ।  विशेषगरी दुर्गम क्षेत्रमा रहेका पाठेघरको क्यान्सर पीडित महिलाहरुको उपचारमा सहयोग गर्ने फाउन्डेसनले जनाएको छ । त्यस्तै देशभरका गरिब, दुःखी र बाबु आमा नभएका असहायहरुका लागि पनि काम लामाले जानकारी दिए ।

त्यस्तै बृद्धा आश्रम र  बाल आश्रममा पनि सहयोग गर्नेछ भने फाउण्डेसनले लागू औषध तथा दुब्र्यसनीमा फसेका युवायुवतीहरुको क्षेत्रमा उनीहरुलाई सामान्य जीवनमा फर्काउनका लागि भूमिका खेल्नेपनि जनाइएको छ । फाउण्डेसनले मन्दिर र भगवानका मूर्तिहरु, गुम्बा, स्तुपाहरू बनाउने तथा आर्थिक सहयोग जनाइएको छ । । त्यस्तै फाउण्डेसनले याङ्गजीन साङ्गे मेमोरियल पार्क गायक लामाकै गृह जिल्ला काभ्रेमा निर्माणको तयारी गरेको छ ।

फाउण्डेसन गायक लामाको परिवार भित्रका व्यक्तिहरुले संचालन गर्ने र लाग्ने खर्च सबै आफैंले बेहोर्ने छन् । संसाभर रहेका गायक लामाका शुभचिन्तक र साथीभाई आफन्तबाट पनि सहयोग लिएर अघि बढ्ने उनको योजना छ । अहिले संसारभर रहेका उनका  शुभेच्छुकहरु फाउण्डेसनको सदस्य बन्ने क्रम जारी रहेको गायक लामा बताउँछन् । गायक लामा भन्छन्, ‘भान्जा र दिदीको नाममा याङ्गजीन साङ्गे फाउण्डेशन खोलेर म सामाजिक काममा जोडिएको हुँ ।’

‘उनीहरुको आत्माको शान्तिको कामनाका लागि मैले अबका लागि समाजसेवामा धेरै काम गर्नेछु,’ उनले भने । गायक लामाकी माईली दिदी याङ्गजीन लामाको क्यान्सरले निधन भएको केही समयमा उनले  भान्जा साङ्गे रेन्जिन लामालाई पनि हृदयघातबाट गुमाएसँगै  दिदी र भान्जाको सपनासँग भावनात्मक हिसाबले जोडिन पुगेपछि फाउण्डेसन संचालनमा ल्याएका हुन् ।

गायक लामाका दिदी र भान्जाको अमेरिकामा निधन भएको हो । लामा पछिल्ला दिन देश विदेशमा हुने सांगीतिक कार्यक्रमका अलावा आफ्नो नियमित व्यबसायमा पनि व्यस्त छन् । हालसम्म चारसय बढी गीतमा स्वर भरिसकेका गायक लामा अमेरिकाको लामो समयको भ्रमणपछी नयाँ एल्बम बजारमा ल्याउने तयारीमा छन् । त्यसका लागि उनले गीत रेकर्डिङ गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?