कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडाैं उपत्यकाका बजारमा

लोकपथ
13
Shares

इटहरी । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौं उपत्यकासहितका बजारमा पनि बिक्री बितरण सुरु गरेको छ । संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवा लगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका सहरहरूमा बजारीकरण सुरु गरेको हो ।

झन्डै २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेपछि उपत्यका केन्द्रित व्यापार थालेको अध्यक्ष यादव ढकालले बताए । अध्यक्ष ढकालका अनुसार बजारीकरणको पहिलो चरणमा काठमाडौँको चाहवहिलमा शीत भण्डार स्थापना गरिएको छ ।

पाँच टन क्षमता रहेको भण्डारमा दुग्धजन्य सामाग्रीहरु स्टोर गरी काठमाडौँ, भक्तपुर,ललितपुर सहित काभ्रेपलान्चोकका बजारमा विक्री वितरण गर्दै आएको संस्थाका बजार प्रमुख नवराज नेपालले जानकारी दिए । कामधेनुले यस आर्थिक वर्ष भित्रमै उपत्यकाका २० मुख्य बजारहरूमा विक्री केन्द्र खोल्न लागेको बजार प्रमुख नेपालले बताए ।

उपत्यकामा समेत खुल्ला दुग्ध पदार्थहरू जथाभाबी बेचबिखन हुने पाइएकाले सरकारले अनुगमन गरी त्यस्ता कार्य निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ । उपभोक्ताले गुणस्तरीय दुग्ध पदार्थहरूको माग अत्यधिक मात्रामा गरिरहेको अवस्थामा उपत्यकामा आइसकेपछि थप हौसला मिलेको दाबी गरे ।

इटहरी उपमहानगरपालिका २० स्थित तरहरा प्रधान कार्यालय रहेको कामधेनुमा प्रत्यक्ष रूपमा पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, तेह्रथुम लगायत जिल्लाका एघार हजार कृषकहरू आबद्ध रहेका छन् ।

छुर्पी निर्यातका लागि सम्झौता
कामधेनुले आफ्ना उत्पादनहरूलाई विदेशसम्म पु¥याउने भएको छ । बजारीकरणकै क्रममा सहकारी संस्थाले अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा दुग्धजन्य पदार्थहरू निर्यात गर्दै आएको ललितपुरको लेकाली नेपाल प्रा।लीसँग कम्तीमा वार्षिक ५० हजार केजी छुर्पी विक्री गर्ने गरी सम्झौता गरेको छ ।

लेकाली नेपाल प्रालिका म्यानेजर अङ्कित मुन्द्राले संस्थासँग वार्षिक ५० हजार केजी छुर्पी खरिद गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संस्थाका तर्फबाट अध्यक्ष ढकालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिकेजी १ हजार ३ सयदेखि १ हजार ४ सयसम्म खुद्रा मूल्यमा विक्री हुँदै आएको छुर्पी विदेश निर्यात गर्ने गरी सम्झौता हुँदा समग्र कृषकहरूलाई पनि फाइदा पुग्ने संस्थाका अध्यक्ष ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?