माल्दिभ्समा आमनिर्वाचन आज, मइज्जुको ‘इन्डिया आउट’ अभियानको परीक्षा

लोकपथ
0
Shares

काठमाडौं । माल्दिभ्समा आइतबार आमनिर्वाचन हुँदैछ । ९३ सदस्यीय पिपुल्स मजलिस् अर्थात् संसद्को निर्वाचनमा करिब तीन लाखले मतदान गर्ने अपेक्षा गरिएको छ । यो निर्वाचनलाई राष्ट्रपति मोहममद मुइज्जुको चीनतर्फको झुकाव र ‘इन्डिया आउट’ अभियानको परीक्षाकोरुपमा हेरिएको छ ।

गतवर्ष राष्ट्रपतिको चुनावताका मुइज्जुले भारत विरोधी अभियान चलाएका थिए । अहिले पनि उनको दल पिपुल्स नेशनल कंग्रेस (पीएनसी)ले यही नारा लगाएको छ । तर हाल संसद्मो राष्ट्रपतिको मुइज्जुको बहुमत छैन । बहुमत नहुँदा उनले कानून निर्माण अफ्ठ्यारो भोगिरहेका छन् । हाल मजलिस्मामा विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी ४१ सिटसहित ठूलो दल हो ।

यो निर्वाचनमा माल्दिभ्सका २ लाख ८५ हजार मतदाताले मतदान गर्दैछन् भने सोमबारसम्म परिणाम आइसक्ने अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् ।

स–साना टापुहरू मिलेर बनेको देश हो, माल्दिभ्स । मुलतः माल्दिभ्स दक्षिण एसियाको सबैभन्दा महँगो गन्तव्यकोरुपमा चिनिन्छ । तर यहाँको राजनीति पनि कम रोचक छैन । ४५ वर्षीय मुइज्जु गत सेप्टेम्बरमा चीन समर्थक पूर्वराष्ट्रपति अब्दुल्ला यामिनको प्रोक्सीकोरुपमा विजयी भए । उनले त्यसयता निरन्तर चीन समर्थक भएर प्रस्तुत भइरहेका छन् । जनवरीमा उनले बेइजिङको भ्रमण गरेका थिए ।

माल्दिभ्सको इतिहासमै उनी त्यस्ता राष्ट्रपति बने, जो राष्ट्रपति बनेपछि भारतकोभन्दा पहिले बेइजिङको भ्रमण गरेर चीनसँगका सम्झौताहरुलाई अघि बढाए । उनको यो कदमको प्रभाव जनतामा कस्तो रहनेछ भनेर आजको निर्वाचनले परीक्षण गर्नेछ ।

यसपटकको निर्वाचनमा भारतले मुइज्जुविरुद्ध माल्दिभियन डेमोक्रेटिक पार्टीप्रति सद्भाव राखेको छ । मुइज्जुले भारतीय सेना फिर्ता पठाउने घोषणा गरेका कारण पनि भारत मुइज्जुप्रति रुष्ट छ ।

यो निर्वाचनमा एउटै दलले बहुमत हासिल गर्ने सम्भावना भने छैन । विभाजनका कारण कुनै पनि दलले बहुमत हासिल गर्ने अवस्था नरहेको समाचार संस्थाहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?