वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल

लोकपथ
26
Shares

मोरङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पारे । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै भएको छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताए ।

उनले भने, “वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिस्टबिच एकता जरुरी छ । यो आजको आवश्यकता पनि हो । यसमा कुनै दुईमत छैन ।” उनले कोशी प्रदेशलगायत अन्य प्रदेशमा नयाँ सरकार निर्माण सुरु भइसकेको समेत बताए ।

नेता खनालले पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्री पदको माग नगरेको उल्लेख गरे ।

कोशी प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिनु केही राजनीतिक र संवैधानिक समस्या भएको उनले बताए । उनले यो सङ्क्रमणको समय भएकाले छिट्टै समाधान हुनेमा विश्वास व्यक्त गरे । उनले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्ने धारणा समेत राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?