गण्डकी प्रदेश सभा बैठक बोलाइएकोप्रति कांग्रेस असन्तुष्ट

लोकपथ
70
Shares

काठमाडौं। गण्डकी प्रदेश सभाको बैठक आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

सर्वोच्च अदालतले वर्तमान खगराज अधिकारी नेतृत्वको सरकारलाई मुद्दाको टुंगो नलाग्दासम्मका लागि दीर्घकालिन असर पर्ने काम नगर्न आदेश दिएको छ। तर अदालतको बेवास्ता गर्दै गण्डकी प्रदेश सरकारले बैठक आह्वान गरेको भन्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आपत्ति जनाएका हुन्।

‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दा पेशी समेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्तिहरु गर्नु र तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु मा. प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम हो,’ जारी विज्ञप्तिमा भनिएको छ।

पूर्व मुख्यमन्त्री समेत रहेका अदालतको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको समेत बेवास्ता गरिएकोप्रति असन्तुष्टी जनाउँदै यसले द्वन्द्धको वातावरण सिर्जना हुने र त्यसको जिम्मेवार प्रदेश सरकार नै हुने चेतावनी समेत दिएका छन्।

प्रदेश सरकार गठनमा प्रदेश सभाका सभामुखको समेत संलग्नता रहेको भन्दै कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको थियो। सर्वोच्च अदालतले गत चैत २८ गते मुद्दाको टुंगो नलाग्दासम्म दीर्घकालिन राख्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
गण्डकी प्रदेश सभाको बैठक वैशाख ७ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?