आईपीएलमा चेन्नई सुपर किंग्सको चौथो जित

लोकपथ
403
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबारको खेलमा चेन्नई सुपर किंग्सले जितेको छ । प्रतियोगिताअन्तर्गत चेन्नईको यो चौँथो जित हो । मुम्बईको घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २१ रनले पराजित ग-यो ।

मुम्बईका लागि रोहित शर्माले शतकपारि खेले, तर त्यो जितका लागि पर्याप्त हुन सकेन । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्रै बनायो । मुम्बईका लागि ओपनर रोहित शर्माले ६३ बलमा ११ चौका र ५ छक्काको सहयोगमा अविजित १०५ रनको शतकीय ईनिङ्ग्स खेलेका थिए । तिलक बर्माले २० बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाए ।

अर्का ओपनर इशान किशनले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । पहिलो विकेटका लागि शर्मा र किशनले ४३ बलमा ७० रनको साझेदारी गरेका थिए ।

यता, चेन्नईका लागि मधिशा मधिरानाले ४ तथा मुस्ताफिजुर रहमान र तुसार देशपान्डेले समान १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो । चेन्नईका लागि ऋतुराज गायकवाड तथा शिभम दुवेले अर्धशतक बनाए । दुवेले ३८ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ६६ रन बनाए । कप्तान गायकवाडले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६९ रन बनाए । दुवे र गायकवाडले तेस्रो विकेटका लागि ४५ बलमा ९० रनको महत्वपुर्ण साझेदारी गरेका थिए।

ओपनर रचिन रविन्द्रले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाएका थिए भने अर्का ओपनर अजिंका रहाणेले ५ रन मात्र बनाउन सके । ड्यारियल मिचेलले १४ बलमा १७ रन थपे ।

यस्तै पूर्व कप्तान महेन्द्रसिंह धोनी २० रनमा अविजित रहे । उनले ४ बलमा ३ छक्का प्रहार गरेका थिए भने २ रन अन्यबाट जोडेका थिए । मुम्बईका लागि हार्दिक पान्ड्याले २ तथा जेरार्ड कोट्जे र श्रेयस गोपालले समान १/१ विकेट लिए । छैटौं खेलबाट चौथो जितका साथ चेन्नई ८ अंकसहित तेस्रो स्थानमा कायम रहेको छ भने छैटौं खेलमा चौथो हार व्यहोरेको मुम्बई ४ अंकसहित पुछारबाट तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?