‘नेता–व्यवसायी विमतिले मुलुक गम्भीर भूराजनीतिक भुमरीमा’

लोकपथ
91
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई नेता र व्यवसायीहरुमा एकअर्काको खुट्टा तान्ने प्रवृति हाबी हुँदा मुलुक गम्भीर भूराजनीतिक भुमरीमा फसेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आइतबार आयोजित ‘नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्थ–राजनीतिक सम्बन्धहरुबारे ध्यान नदिँदा नेपालको अर्थतन्त्र परनिर्भर रहेको बताए ।

उनले भने, ‘यहाँ नेता र व्यवसायीहरु एकअर्काका खुट्टा तान्नमै व्यस्त रहे । जसकारण मुलुक गम्भीर भूराजनीतिक भुमरीमा फस्यो । हामी अर्थ–राजनीतिक सम्बन्धबारे ध्यान दिइरहेका छैनौं । खालि भौगोलिक, राष्ट्रियता र सीमाका कुरा त हामी गर्छौं ।’
सुगौली सन्धिपछि भारतसँगको खुला सिमानाका कारण नेपालको अर्थतन्त्र परनिर्भर भएको उनको भनाइ छ ।

उनले भने, ‘सुगौली सन्धिदेखि यता भारतसँगको जुन खुला सिमाना हो, जुन सन्धिका प्रावधानहरु हुन् ती कारणले गर्दा हाम्रो अर्थतन्त्र परनिर्भर छ । हाम्रो बजार त भारतीय बजारको नियन्त्रणमा छ । यो सबै त सुगौली सन्धि यताको घटनाक्रमले नै देखाउँछ नि ।’

सुगौली सन्धिपछि नेपालका अधिकांश उद्योगहरु प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका उल्लेख गर्दै उनले भारतीय बजारले नेपालको अर्थतन्त्र निमोठेको बताए ।

‘सन्धिपछि नै अधिकांश उद्योगधन्दा बन्द भए केही प्रतिस्पर्धा गर्न नसकेर गए । अहिले पनि त्यस्तै छ नि । भारतीय बजारले पटक पटक नेपालको अर्थतन्त्र निमोठेको छ,’ उनले भने ।

नेपालको बजार अझै पनि कृषि क्षेत्रमा नै निर्भर रहेको बताउँदै उनले कृषिमा वैज्ञानिक क्रान्ति गर्न सकेमात्र अर्थतन्त्र बलियो बन्न सक्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?