लुटन टाउनविरुद्ध म्यानचेस्टर सिटीलाई ५–१ अन्तरको जित

लोकपथ
77
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले लुटन टाउनलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । सिटीले सुरुआती अग्रता उपहारमार्फत लिएको थियो । त्यसपछि माटेओ कोभाए, एर्लिङ हालान्ड, जेर्मी डोकु र जाको गाभ्राडिओलले एक एक गोल गरेका थिए ।

लुटनका लागि रोस ब्राकलेले एक गोल फर्काए । लुटनका डेकी हिसाहोकाले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले दोस्रो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा १ गोल भएको खेलमा बाँकी गोल दोस्रो हाफमा सम्भव भएका थिए । माटेओ कोभाएले ६५ औं मिनेटमा जुलियन अल्भारेजको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

७६ औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गरेपछि सिटीले ३–० को अग्रता बनाएको थियो । ८१ औं मिनेटमा रोस ब्राकलेले गोल फर्काएपछि लुटन टाउनले अग्रता कम गरेको थियो । तर, ८७ औं मिनेटमा जेर्मी र अतिरिक्त समयमा ग्राभाडिओलले गोल थपेपछि अन्ततः सिटी ५–१ को जित दर्ता गर्न सफल भयो ।

जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ३२ खेलबाट ७३ अंक बनाउँदा एक खेल कम खेलेको आर्सनल र लिभरपुलको समान ७१ अंक रहेको छ । प्रिमियर लिगकै अन्य खेलमा नटिङघम फरेस्ट र वुल्भ्सले दुई दुई गोलको बराबरी खेल्दै अंक बाँड्दा बर्नले र ब्राइटनले एक एक गोलको बराबरी खेले । यस्तै, न्युक्यासल युनाइटेडले टोटनह्याममाथि ४–० को सहज जित दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?