लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण रोक्न दलहरु मात्र सक्षम छन् : नेता कोइराला

लोकपथ
52
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भएकाले त्यसलाई निस्तेज पार्न राजनीतिक दलहरुमात्र सक्षम रहेको बताएका छन् ।

तर, राजनीतिक दलहरूमा देखिएको सत्ता लिप्सा र अराजक व्यवहारले नराम्ररी जनताको कठघरामा उभ्याएको पनि उनले उल्लेख गरेका छ । शनिबार बिहान नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना सन्देश दिंदै डा. कोइरालाले राजनीति समाज सेवा,राष्ट्र निर्माणको अभियान भएको र सो अभियानमा निष्ठावान, नैतिकवान र इमान्दार व्यक्तिहरू किमार्थ पछाडि पर्नु नहुने धारणा राखेका छन् ।

कोइरालाले विसं २०८० को शुभकामना दिएको स्मरण गर्दै नेपालमा नयाँ दशक र नयाँ युगको सुरुवात भएर आम नेपालीको जीवनमा खुसीयाली आउनेछ भनी आफ्नो अभिमत प्रकट गरेको भएपनि त्यसमा पर्याप्त सुधार नभएको बताएका छन् ।

‘बितेको साढे तीन दशकमा शासकीय व्यवस्थामा आएको पटक पटकको परिवर्तनले आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक विकासलाई अवरोध पुग्दापुग्दै पनि हामीले त्यस क्षेत्रमा प्राप्त गरेको उपलब्धिलाई सन्तोषजनक मान्न सक्छौं । अझ खास गरी सूचना र प्रविधिको क्षेत्रमा विश्व समुदायसँग नागरिक बीचको अन्तरसम्बन्ध बढाएर अगाडि बढ्ने कार्यमा, पर्यावरण र मानवअधिकारको पक्षमा हामी झन्डै एउटै छातामुनि पुग्यौं,’ डा.कोइरालाले भनेका छन् ।

डा.कोइरालाले नेपाली युवाहरुको विदेश पलायन रोक्नुपर्ने उल्लेख गर्दै भनेका छन्, ‘नेपाल युवाहरूको देश भनेर चिनिन्छ । तर युवाको आन्तरिक र अन्तराष्ट्रिय पलायन भने उच्च रहेकाले गम्भीर हुने बेला भएको छ । राज्य, निजी क्षेत्र, गैरसरकारी संस्था लगायत विकासका अन्तराष्ट्रिय साझेदारी संस्थाको एकीकृत प्रयासबाट तिनको ऊर्जा देशभित्र नै उत्पादनशील क्षेत्रमा लगाउन अब ढिलो गर्नु हुन्न । जनसांख्यिक लाभलाई उत्पादनमा जोड्ने ध्येय र हुटहुटी नभएसम्म नव नेपालको निर्माण सम्भव छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?