नेपाल प्रहरीको सफलता : ६ हजार ४२ जना हराएका मानिस फेला

लोकपथ
91
Shares

काठमाडौं । बालक हुन वा वृद्ध कुनैपनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अन्जानमा मानिसहरू हराउने गरेका छन् । घरपरिवारबाट अचानक सम्पर्कवीहिन हुने गरेका छन् । जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन् ।

आफ्ना प्यारा सदस्य हराएको पीडाको खबर सुन्दा सबैलाई दुःख लाग्छ । यही दुखद पीडापछि मानिसहरू प्रहरीलाई सम्झछन् र खोजीका लागि अनुरोध गर्दछन् । यसरी सूचना प्राप्त हुनासाथ खोजी गर्ने क्रममा हराएका मध्ये सिन्धुपाल्चोकका ८ वर्षीय बालकलाई काठमाडौं ढुंगेअड्डामा प्रहरीले फेला पा-यो । उनलाई भ्वाइस अफ चिल्ड्रेन ललितपुरमा संरक्षणका लागि पठाइयो । यसैगरी धनुषाकी १४ वर्षीया बालिका कोही कसैलाई जानकारी नगराई घरबाट गत कात्तिक ८ गते हराई बेपत्ता भएको खबर प्राप्त भयो ।

तत्काल खटिएको प्रहरीले हुलियाका आधारमा खोजी गर्दा जनकपुरधाममा फेला पारी उनकी आमालाई जिम्मा लगायो । यसैगरी धनुषाकै २१ वर्षीया किशोरी जानकारी बिना नै गत फागुन २ गते हराई बेपत्ता भइन् । प्रहरीले खोजी गर्ने क्रममा क्षिरेश्वरनाथमा फेला पार्न सफल भयो ।

उल्लेखित मानिसहरू बाहेक यसरी खोजी गर्ने क्रममा अन्यलाई समेत प्रहरीले फेला पारेको छ । प्रहरी खोजी तथा उद्दारमा जुट्ने क्रममा चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन् ।

ती मध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९ जना महिला, ७२७ जना बालक, १ हजार ६ सय जना बालिका र ९७ जना जेष्ठ नागरिक रहेका छन् । फेला परेका मानिसहरू मध्ये काठमाडौं उपत्यकाबाट १ हजार २७२ जना, कोशी प्रदेशबाट १ हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन् । सो अवधिमा १० हजार ४९ जना मानिस हराएका थिए ।

हराएका मध्ये ३ हजार ३७९ जना पुरूष र ६ हजार ६७० जना महिला रहेका छन् । हराएका मानिसहरूको खोजी तथा उद्दारपछि परिवारसँग पुनर्मिलन गराउने गरिएको छ । पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा संरक्षणका लागि जिम्मा लगाउने गरिएको छ ।

मानिस हराएपछि थपिएका पीडा हटाउन प्रहरी सदैव सक्रिय रहँदै आएको छ । खोजी तथा उद्दारका लागि प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा काम गर्ने गरेको छ । खोजी सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन,‘अन्जान वा लापरवाहीले अप्ठ्यारोमा परेकाको खोजी तथा उद्दार गर्नु मानवीय कार्य हो । नागरिकको जीवन रक्षाको काम गर्ने प्रहरी संगठनले दुःखमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तिब्रता अपनाएको छ । खोजी मात्रै होइन मानिस के कारण हराउँछन् ? यस्तो अवस्था आउँन नदिन सचेतना फैलाउने, सम्झाउने र पुनःघटना दोहोरिन नदिन वातावरण सिर्जना गर्न पनि प्रहरीको पहल रहने छ ।’

हराएका मानिसहरूको विवरण राख्न नेपाल प्रहरीले वेबसाइटको व्यवस्था गरेको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उक्त वेबसाइटको गत भदौ १७ गते उद्घाटन गरेका थिए ।तत्पश्चात वेबसाइटमा विवरण राख्न र हराएका व्यक्ति सनाखत गर्न सहज भएको छ । सरोकारवाला सबैले एकै स्थानबाट सूचना पाएपछि खोजीमा सक्रियता अपनाउन, पहिचान गर्न र उद्दार गर्न सजिलो भएको छ ।

आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ३६ हजार ९८५ जना हराएका मानिस फेला परेका छन् । ती मध्ये ११ हजार ३५९ जना पुरूष र २५ हजार ६२६ जना महिला रहेका छन् । सो अवधिमा ९३ हजार ६९१ जना मानिस हराएका थिए । हराएका मध्ये २८ हजार ६९० जना पुरूष र ६५ हजार १ जना महिला रहेका छन् । तथ्याङ्क विश्लेषण गर्दा सबै भन्दा महिला हराउने गरेको देखिन्छ ।

हराएका व्यक्ति खोजी गर्न नेपालभर नेपाल प्रहरीका सबै युनिटहरू सक्रिय छन् । जंगलमा हराएकालाई साइरन बजाउँदै र ठूलो स्वरमा कराउन लगाउँदै खोजी गर्ने गरिएको छ । भौगोलिक अवस्था र परिस्थिति अनुसारको खोज तरिका अपनाउने गरिएको छ । लोकेशन थाहा पाउन प्रविधिको प्रयोग र अन्य विभिन्न तरिका अवलम्बन गर्ने गरिन्छ ।

खतराको अवस्थालाई आँकलन गरी सुरक्षा अपनाउने गरिएको छ । आफू जोगिएर खोजी तथा उद्दार गर्न प्रहरी सचेत छ । खोजी तथा उद्दार सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी भन्छन् ‘हराएका मानिसहरू खोजी गर्न प्रहरी गस्ती बढाइएको छ । सूचना संकलन, प्रविधिको प्रयोग, सशक्त रूपमा प्रहरी परिचालन, सम्बन्धित प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय लगायतका गतिविधि गरी सक्रिय रूपमा खोजी गर्ने गरिएको छ । प्रहरी र आफन्तको संयुक्त प्रयासबाट समेत तदारूकताका साथ खोजी हुने र हराएका मानिस फेला पर्ने गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?