वाम गठबन्धनको यस्तो छ सिट बाँडफाँट

काठमाडौँ, कात्तिक १३ – नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) सम्मिलित वाम गठबन्धनले निर्वाचन क्षेत्र बाँडफाँटको काम करिब–करिब टुङ्ग्याएका छन् । लामो प्रयास र छलफलपछि दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामध्ये प्रतिनिधिसभाअन्तर्गत केही जिल्लाबाहेक सिट बाँडफाँट सकिएको जानकारी नेताहरूले दिनुभएको छ त्यस्तै, प्रदेशसभातर्फको सिट बाँडफाँट पनि करिब टुङ्गो लागेको बैठकमा सहभागी नेताहरूले बताउनुभयो । सहमतिअनुसार दोस्रो चरणमा चुनाव हुने प्रतिनिधिसभाको १२८ निर्वाचन क्षेत्रमध्ये ११५ निर्वाचन क्षेत्रमा कसले चुनाव लड्ने भन्ने टुङ्गो लागेको छ । त्यसमध्ये एमालेका लागि ६८ सिट र माओवादीका लागि ३६ सिटमा सहमति जुटाइसकिएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । सहमति जुटेका ११५ सिटमध्ये स्वतन्त्रलाई १० र राष्ट्रिय जनमोर्चाले पाउने एक सिटको समेत टुङ्गो लागेको छ चितवन, सल्यान लगायतका जिल्लाबाहेक अन्य सबै ठाउँमा सिट बाँडफाँट सकिएको नेता पाण्डेले जानकारी दिनुभयो । पहिलो चरणमा हुने प्रतिनिधिसभाका ३७ निर्वाचन क्षेत्रमध्ये एमालेले २१ स्थानमा र माओवादीले १६ स्थानमा प्रतिस्पर्धा गर्दैछन् दोस्रो चरणमा निर्वाचन हुन प्रदेशसभाका २५६ सिटमध्ये एमालेले प्रतिस्पर्धा गर्ने १३८, माओवादी केन्द्रले प्रतिस्पर्धा गर्ने ८५ र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धा गर्ने पाँच स्थानमा सहमति जुटेको छ । अझै पनि प्रदेशसभाका २८ सिट बाँडफाँटमा सहमति जुटाउन बाँकी छ । पहिलो चरणमा चुनाव हुने प्रदेशसभाका ७२ सिटमध्ये माओवादी ३२ स्थानमा, एमाले ३९ स्थानमा, राष्ट्रिय जनमोर्चा दुई स्थानमा प्रतिस्पर्धा गर्दैछन् । एमाले उम्मेदवार पछि हटेपछि मनाङ ‘ख’को प्रदेशसभामा दीपक मनाङ्गेका रूपमा परिचित राजीव गुरुङ स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन् गठबन्धनबीच एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशतको हिसाबले सिट बाँडफाँटको सहमति भएअनुसार दुवै दलका नेताहरूले त्यसलाई सल्टाउने कसरत गरिरहेका छन् । यसअघि दाङ २ मा एमाले नेता शङ्कर पोखरेल र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको दाबी रहे पनि एमालेले पोखरेललाई प्रदेश ५ को मुख्यमन्त्री बनाउने गरी त्यस क्षेत्रमा महरालाई उम्मेदवार बनाउने गरी विवाद सल्टाएको नेता पाण्डेले बताउनुभयो त्यस्तै, चित्तवन २ मा एमाले नेता कृष्णभक्त पोखरेल र माओवादी केन्द्र नेता रामबहादुर थापा बादलबीचको दाबीलाई अझै सल्टाउन बाँकी रहेको नेता पाण्डेले बताउनुभयो । सो क्षेत्रमा दुवै दलको आ–आफ्नो दाबी कायमै छ, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?