माछापुच्छ्रे बैंकले राजश्व र पेन्सनको कारोबार नगर्दा सास्ती

लोकपथ
78
Shares


मुगु । देश संघीयतामा गएपछि ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा विभाजित छ । त्यसपछि एक पालिका एक बैंकको अवधारणा अघि बढेको छ ।

त्यही अवधारणा अनुरुप मुगुको खत्याड गाँउपालिकामा स्थापना भयो माछापुच्छ्रे बैंक । तर राज्यलाई बुझाउनु पर्ने राजश्व र नेपाल सरकारको बिभिन्न सेवाबाट अवकास पाएका राष्ट्र सेवकले पाउने पेन्सन सेवाको कारोवार नगरेकाले मुगुका खत्याडबासी मारमा परेका छन ।

खत्याड गाँउपालिका र पालिकाभित्र रहेका जुनसुकै सरकारी काम काजका लागि राज्यलाई दिनुपर्ने राजश्व बुझाउन घन्टौं पैदल हिडेर सदरमुकाम गमगढी बजार पुग्नुपर्ने बाध्यता छ । नत्र छिमेकी जिल्ला बाजुराको धुलाचौरमा रहेको राष्ट्रिय बैकमा गएर राजश्व जम्मा गर्नुपर्ने बाध्यता छ ।

तर पालिकामै रहेको माछापुच्छ्रे बैंकबाट राजश्व र पेन्सेन पट्टा सेवा लिने राष्ट्र सेवकहरुले पाउनुपर्ने सेवा वापतको रकम सम्बन्धी कारोबार बैंकले नगर्दा सेवाग्राही मारमा छन् । सेवा दिलाउनको लागि पालिकाले बैंक समक्ष पटक पटक आग्रह गरेको भएपनि कुनै सुनुवाइ नभएको खत्याड गाँउपालिकाका उपाध्क्षय सरिता रोकायाले बताइन ।

पालिकामा माछापुच्छे बैंक स्थापना हुँदा उत्साहित भएका स्थानीयबासी अहिले निराश छन् । बैंकले पेन्सेन पट्टाबाट सेवा लिने राष्ट्र सेवा र राज्यलाई राजश्व बुझाउन बैंकमार्फत सजिलो हुनेभयो भन्ने सोचेका थियौं तर बैंकबाट कुनैपनि सेवा नहुने भएको हुँदा दुई दिन पैदल हिडेर सदरमुकाम गमगढी जानुपर्ने बाध्यता छ । पेन्सन सेवा लिन र राज्यलाई राजश्व बुझाउन बैंकमा इन्टरनेट र बैंकको सिस्टम नचल्दा पनि ढिला हुने गरेको छ,’ स्थानीय धनसुर थापाले भने ।

पालिकामै स्थापना भएको बैंकले यस्ता सामान्य सेवा सुविधा उपलब्ध गराउन भन्दै केन्द्रीय कार्यालयमा नै पहल गरेको भएपनि केन्द्रीय बैंकको नीति नभएकाले समस्या भएको माछापुच्छ्रे बैंकका जुनियर असिस्टेन्ट दलबहादुर कार्कीले बताए । आन्तरिक राजश्वको खाता बैकसँग सहकार्य नभएको हुनाले पालिका र अन्य नागरिकहरुले राज्यलाई तिर्ने राजश्व बैंकले कारोबार नगरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?