झापा स्पोर्टस् अवार्डमा रोशन र त्रिशा उत्कृष्ट खेलाडी

लोकपथ
91
Shares

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटीएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेका छन् ।

उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौँ स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरुले नगद एक–एक लाख, ट्रफी र गिफ्ट ह्याम्पर हात पारे ।

त्यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन मेनुका राउतलाई सम्मान गरिएको छ । उनलाई नगद ५० हजार, ट्रफी र गिफ्ट ह्याम्परले सम्मान गरिएको हो । उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट रमेश समदर्शीले पुरस्कृत गरिएको छ । उनलाई नगद ३५ हजार र ट्रफीले सम्मान गरिएको हो ।

त्यस्तै, स्पेसल अचिभमेन्ट अवार्डबाट फिफा रेफ्री श्याम दनुवारलाई सम्मान गरिएको छ । उनलाई नगद २५ हजार र ट्रफीले सम्मान गरिएको हो । २०७९ मा प्रदर्शन गरेको आधारमा वर्ष उत्कृष्ट युवा खेलाडीमा पौडीका प्रारम्भ भण्डारी, पिपुल्स च्वाइस अवार्डबाट क्रिकेटकी रुविना क्षेत्री र वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका डम्बर लिम्बू घोषित भए । उनीहरुले जनही २५ हजार नगद र ट्रफी पुरस्कार प्राप्त गरे ।

२०७३ सालबाट सुरु भएको झापा स्पोट्र्स अवार्डको यो पाँचौँ संस्करण हो । यसपटक खेलकुद पत्रकार मञ्च झापाले २०७९ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्ने झापाली खेलाडी तथा खेल प्रतिभालाई सम्मान गरेको हो । आगामी वर्ष पनि अवार्डलाई निरन्तरता दिने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?