पूर्वविद्यार्थीको सहयोगमा प्रविधिमैत्री विद्यालय

बागलुङ – बागलुङ नगरपालिकाको अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यामिक विद्यालयमा पूर्वविद्यार्थीको सक्रियतामा उक्त विद्य्यालयलाइ प्रविधिमैत्री बनाइएको छ ।

सो विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा रहनुभएका पूर्वविद्यार्थीले आर्थिक संकलन गरी विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाइएको विद्यालयका प्रअ प्रेम चापागाईँले बताए । 

पूर्वविद्यार्थीद्वारा सङ्कलित ३५ लाखको लागतमा विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला, मल्टिमिडिया कक्ष,  कम्प्युटर ल्याब र ई–पाटी स्थापना गरिएको विद्यालयको पूर्वविद्यार्थी सङ्घका अध्यक्ष डा। हेमराज शर्माले बताए । “हामीले विगतमा जुन दुःखले अध्ययन गरे पनि अबका विद्यार्थीलाई कुनै दुख तथा समस्या नहोस् भन्ने हाम्रो लक्ष्य हो”, शर्माले भने, “विद्यालयलाई पूर्णरूपमा प्रविधिमैत्री बनाउने लक्ष्यका साथ निरन्तर अगाडि बढेका छौँ ।” 

 

विद्यालयमा स्थापना गरेको विज्ञान प्रायेगशाला, ई–पाटी, कम्प्युटर ल्याब तथा मल्टिमिडिया  नियमित सञ्चालनमा ल्याउनका लागि समेत पूर्वविद्यार्थीले रु ५० लाख बराबरको अक्षयकोष विद्यालयमा स्थापना गरेको  शर्माले जानकारी दिए । विद्यालयमा स्थापना गरेको अक्षयकोषकोे ब्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षक व्यवस्थापनसँगै प्रविधिको मर्मतसम्भार गरिने विद्यालयले जनाएको छ ।  

विद्यालयमा हाल १९ थान कम्प्युटर, एक मल्टिमिडिया सेन्टर, ४० थान ई–पाटी तथा नयाँ प्रविधिसहितको विज्ञान प्रयोगशाला रहेको छ ।  विद्यालयमा स्थापना भएको मल्टिमिडियामार्फत अन्य जिल्लामा नमूना रूपमा परिचित विद्यालयमा अध्यापन भइरहेको समेत प्रत्यक्षरूपमा देखाउन सकिनेछ । विद्यालयमा प्रविधि तथा गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि प्राविधिक शिक्षक तुरुन्त पठाउने तयारी भएको पूर्वविद्यार्थी सङ्घले जनाएको छ ।  

विद्यालयमा स्थानीय समाजसेवी स्व. हिरण्यप्रसाद ढकालको स्मृतिमा उहाँकी धर्मपत्नी जानुका ढकाल र उहाँका छोरा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकाल र हेमराज ढकालद्वारा  ६ करोड २४ लाखको लगानीमा १६ कोठे अपाङ्गमैत्री आधुनिक विद्यालयसमेत निर्माण सुसम्पन्न गरी हस्तान्तरण गरिएको छ । सुविधासम्पन्न भवनले मात्र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने भन्दै पूर्वविद्यार्थीले विद्यालयलाई प्रविधिमैत्री बनाउन सक्रियता देखाएका हुन् । 

कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल ३८८ विद्यार्थी छन् ।प्रतिकात्मक तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?