राजस्थानको अपराजित यात्रालाई टाइटन्सले तोड्यो, ३ विकेटको जित

लोकपथ
858
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सको पाँचौं खेलमा आएर अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बुधबार राति गुजरात टाइटन्ससँग ३ विकेटले पराजित भएपछि राजस्थानको अपराजित यात्रामा पूर्ण विराम लागेको हो । पराजित भए पनि राजस्थान ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा जित निकालेको गुजरात भने ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।

राजस्थान रोयल्सले २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो भने जवाफमा गुजरात टाइटन्सले ७ विकेट गुमाएर १९९ रन बनाउँदै खेलमा ३ विकेटको जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सको सुरुवात खराब रह्यो र उसका दुबै ओपनर पावरप्लेमा पभेलियन फर्किए । खराब फर्मसँग लडिरहेका यशस्वी जैसवाल १९ बलमा २४ रन बनाएर पाँचौं ओभरमा टिमको स्कोर ३२ रन हुँदा पहिलो विकेटको रुपमा पभेलियन फर्किए । यस्तै, पछिल्लो खेलका शतक प्रहार गरेका जोस बटलर छैटौं ओभरमा टिमको स्कोर ४२ रन हुँदा आउट भए । उनले १० बलमा ८ रन बनाएका थिए ।

ओपनर सस्तैमा आउट भएपछि कप्तान सञ्जु सैमसन र रियान परागले इनिङ्सलाई अगाडि बढाउँदै तेस्रो विकेटका लागि १३० रनको साझेदारी गरेका थिए । यस क्रममा राजस्थानले आठौं ओभरमा ५० रन, १३औँ ओभरमा १०० र १७औँ ओभरमा १५० रन जोडेको थियो । परागले इनिङ्सको सुरुमै पाएको जीवनदानको सदुपयोग गर्दै १९ औं ओभरमा आउट हुनुअघि ४८ बलमा ७६ रन बनाए । उनको इनिङ्समा तीन चौका र पाँच छक्का सामेल थिए ।

कप्तानको रूपमा आफ्नो ५० औं खेल खेल्दै आएका सामसनले पनि अर्धशतक बनाउन सफल भए । उनले ३८ बलमा अविजित ६८ रन बनाए । शिमरोन हेटमायरले ५ बलमा १३ रन बनाएर नटआउट रहे । अन्तिम ओभरमा १९ रन बनाए पनि राजस्थान रोयल्सको टोलीले २ सय रनको अंक जोड्न सकेन । गुजरात टाइटन्सका लागि उमेश यादव, राशिद खान र मोहित शर्माले एक–एक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्सका लागि साई सुदर्शन र कप्तान शुभमन गिलको जोडीले ६४ रन जोड्दै सानादर सुरुआत गरेको थियो । यो साझेदारी नवौं ओभरमा कुलदीप सेनले तोडेका थिए । सुदर्शन ३५ रन बनाएर आउट भएका थिए । त्यहाँबाट म्याथ्यु वेड (४) र अभिनव मनोहर (१) रनमा आउट भए । गिलले विजय शंकरसँग मिलेर ३२ रन जोड्दै स्कोर १०० भन्दा माथि पुर्याए । विजय १४ औं ओभरमा टिमको स्कोर १११ रन बनेका बेला आउट भए ।

विजयले १६ रनको योगदान गरे । शुभमन गिलले अर्धशतक प्रहार गर्दै ४४ बलमा ७२ रनको उत्कृष्ट इनिङ खेले । उनी १६ औं ओभरमा टिमको स्कोर १३३ रनहुँदा आउट भएका थिए ।शाहरुख खान १४ रन बनाएर १५७ रनमा आउट भएका थिए । अन्तिम दुई ओभरमा गुजरात टाइटन्सलाई जितका लागि ३५ रन आवश्यक थियो ।

राहुल तेवाटियाले अन्तिम ओभरमा आउट हुनुअघि १९ औं ओभरमा २० रन बनाए । उनी ११ बलमा २२ रन बनाएर रनआउट भएका थिए । २०औं ओभरमा राशिद खानले तीन चौकाको मद्दतले कुल १५ रन बनाएर आफ्नो टोलीलाई जित दिलाए । राशिदले ११ बलमा नटआउट २४ रन बनाए र चौका प्रहार गर्दै खेलको अन्त्य गरे । राजस्थान रोयल्सका लागि कुलदीप सेनले सर्वाधिक तीन र युजभेन्द्र चहलले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?