८१ वर्षकी आमै : ठमठम हिँड्दै, लाखौँ कमाउँदै र कमाउन सिकाउँदै


लोकपथ
प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार ०६:२४

काठमाडौं – आजभन्दा करिब ५ दशकअघि श्रीमान्को ५ सय रुपैयाँ तलबले ४ जना छोराछोरीको पालनपोषण र पढाइलेखाइको खर्च धान्न धौधौ परेपछि इन्दिरालाई अभावको पहाडले गर्लम्मै थिच्यो ।

१३ वर्ष नटेक्दै विवाह भएकी इन्दिराले समस्याका ससाना थुम्काहरु पार गर्दै आएकी थिइन् ।

तर, अभावको यो ढिस्को उक्लिन हम्मेहम्मे प-यो उनलाई ।

हुर्कंदै गएका छोराछोरी र उनीहरुसँगै हुर्किरहेको आवश्यकता पूरा गर्न श्रीमानको कमाइले पुग्दैन भन्ने बुझेकी इन्दिराले आफै कमाउन निस्किन्छु भन्ने आँट जुटाउन सकिरहेकी थिइनन् ।

‘छोरी मान्छेको काम घर सम्हाल्ने हो र पुरुषको काम कमाउने’ भन्ने श्रमविभाजनको पाठ समाजरुपी पुस्तकमा पढ्दै हुर्किएकी जो थिइन् उनी । 

एकातिर समाजले कोरिदिएको अदृश्य रेखा अर्कातिर छोराछोरीलाई अफिसर बनाउने हुटहुटी ।

‘बाध्यता’ र ‘मर्यादा’ को यो टसलमा अन्ततः इन्दिराले त्यही गरिन् जे उनलाई सही लाग्यो । 

केलाइरहेको तरकारी छाडेर बजारतिर लागिन् । बजारबाट १२ रुपैयाँमा १ मिटर कपडा किनेर ल्याइन् र बच्चाको लागि हुने एक जोर लुगा सिलाइन् । त्यस लुगालाई उनले २५ रुपैयाँमा बेचिन् । सीपको पनि मूल्य हुन्छ भन्ने कुरा उनले त्यही क्षणमा बुझिन् ।

जीवनमा पहिलोपटक आफ्नो कमाइ हातमा पर्दाको अनुभूति इन्दिरा शायदै भुल्न सक्लिन् ।

त्यस दिन आफूले १३ रुपैयाँ नाफा मात्र होइन थप उद्यम गर्ने हौसला पनि कमाएको सुनाउँछिन् उनी ।

‘त्यसपछि अचार, तितौरा, मस्यौरा, गुन्द्रुक आदि बनाएर बेच्न थालें,’ आम्दानीका स्रोतहरु फराकिलो बन्दै गएको सुनाउँदै उनी थप्छिन्, ‘पैसा त कमाएँ तर, धेरै वचन सहनुप-यो ।’ 

दुईचार पैसाका लागि इन्दिराले कसैको अगाडि हात फैलाउनु परेन त्यसपछि । छोराछोरी पनि कलेज जाने भए । छरछिमेक, आफ्नाआफन्तका माझ भने उनी आलोचनाको पात्र बन्दै गइन् । 
यद्यपि, यसले खासै फरक पारेन इन्दिरालाई किनकी आलोचनाको इट्टा थप्दै महल बनाउने समाजको यो जमात्ले आफूलाई आवश्यक पर्दा एक दाना चामल पनि नदिने कुरा राम्ररी बुझिसकेकी थिइन् उनले ।

‘कसैले केही भन्ला भन्ने सोचेर किन पछि हट्ने जबकि उनीहरुले हामीलाई आवश्यक पर्दा एक दाना चामल समेत दिँदैनन्,’ आफ्ना अनुभव सुनाउँदै उनले भनिन्, ‘आफ्नो लागि त हामी आफैले गर्ने हो नि ।’ 

चौतर्फी आलोचनाको कालो बादल मडारिरहँदा श्रीमानको साथ र सहयोग सानो टुक्रा घामजस्तै बनेको उनी सुनाउँछिन् । यसले उनलाई केही राहत महसुस गराएको थियो । सबै कुरा सोचेजस्तै हुँदै गयो । इन्दिराले आयआर्जनको राम्रो बाटो बनाउँदै गइन् । उनको पहिचान ‘गृहिणी’को घेराबाट फुत्किएर ‘उद्यमी’को परिधिमा मिसियो ।

एक गृहिणीले घरखर्च जुटाउन गरेको यो प्रयासले विद्रोहको सानो झिल्को जलाइसकेको थियो । विसं २०३२ सालमा यस प्रयासले अझै फराकिलो आयाम लियो जब इन्दिराले गृहिणीका निमित्त आयआर्जनको बाटो बनाउँदै नेपाल गृहिणी उद्योग स्थापना गरिन् ।

स्थापनादेखि नै उनले लुगा सिलाउने र बुन्ने, अचार बनाउने आदिजस्ता सीपमूलक कामहरु सिकाउँदै आएकी थिइन् । अहिलेसम्म १० हजारभन्दा बढी गृहिणीहरुलाई तालिम दिइसकेको उनको भनाइ छ । ‘यहीँ काम सिक्ने कति गृहिणीहरुले आफ्नै व्यवसाय सञ्चालन गरेका छन्,’ उनले मुस्कुराउँदै भनिन्, ‘आफू गरिखानु र अरुलाई पनि गरी खाने बाटो बनाइदिन पाउँदा साह्रै आनन्द आउँदो रहेछ ।’ 

 

उद्योगको नाम परिवर्तन भएर अहिले आड तयारी पोसाक भएपनि मर्म अझै उही छ । यस व्यवसायले आफूलाई अन्य क्षेत्रमा समेत काम गर्ने हौसला दिएको बताउँछिन् उनी । उनले जेलमा भएका महिलालाई समेत तालिम दिइसकेकी छिन् । त्यस्तै वृद्धवृद्धाको हकअधिकारका निमित्त पनि उनी उत्तिकै सक्रिय छिन् । 

उनलाई थकाइ लाग्दैन । काम गर्न झिँजो लाग्दैन । हाँस्न र हँसाउन पनि उत्तिकै जाँगरिली छिन् उनी । ‘यस्तो रमाइलो जीवन बाँच्न पाए पो’ इन्दिराको व्यवसायिक जीवनबारे थाहा पाएपछि प्रायले यही भन्छन् । तर, उनको व्यक्तिगत जीवनको चित्रलाई नजिकबाट नियाल्ने हो भने त्यहाँ पीडाका ठूल्ठूला धर्साहरु कोरिएको देखिन्छ, गुनासाका धब्बाहरु छेपिएको जस्तो लाग्छ  । किनकी जसका निमित्त उनले जीवनरुपी सुन्दर कयानभास पोतिन् उनै सन्तान छैनन् इन्दिराको समीपमा ।

 

दिनभरि काम गरेर राति उनी रित्तो कोठामा फर्किन्छिन् । आफ्नो एक्लोपनसँग बात मार्छिन् ।

जुन छोराहरुका निमित्त उनले त्यो समयमा परिवार र समाजसँग जुध्दै, भिड्दै मर्यादाको संघार नाघिन् अहिले तिनै छोराहरुले उनको आशा र भरोसालाई नाघेर अर्कै बाटो लागेका छन् ।

इन्दिराका लागि मातातीर्थ औंसी फगत क्यालेन्डरमै सीमित छ । छोराहरु भेट्न आउँदैनन् । छोरी पनि आफ्नै परिवार र छोराछोरी समहाल्न व्यस्त छिन् जसरी वर्षौं अघि इन्दिरा थिइन् । 

‘कहिलेसम्म काम गर्नुहुन्छ ?’

‘सकुन्जेल,’ उनले सटिक जवाफ फर्काइन् । 

‘अनि नसकेको दिन नि ?’

‘वृद्धाश्रम जान्छु, मजस्तै थुप्रै साथीहरु भेटिन्छन् नि त्यहाँ,’ जीवनले उनलाई समस्या आइपर्नुअघि नै उपाय खोज्ने राम्रो कला सिकाइदिइसकेको रहेछ ।

छोरीलाई अक्षर नचिनाइ ‘कुटुम्ब’ चिनाउने त्यो समयमा जन्मिएकी इन्दिराले देशविदेशका बारेमा कुरा गरिरहँदा, इलम गर्नुपर्छ, सबैले शिक्षा पाउनुपर्छ भनिरहँदा अचम्म लाग्नसक्छ ।

उनको बोलीचाली, हाउभाउ मात्र होइन जीवन पनि त्यसवेलाका ‘हजुरआमा’सँग पटक्कै मेल खाँदैन ।

ब्वाइज कट कपालमा ठाँटिएकी उनको जीवन नै ‘विद्रोह’को वरिपरि घुमिरह्यो । चाहे त्यो छोरी भएर स्कुल गएकोमा होस् या बुहारी भएर आम्दानीका लागि घरबाहिर कदम राख्दा अथवा आमा भएर छोराहरुलाई त्यागेर बुढेसकालमा एक्लो जीवन बिताउँदा । ८१ वर्ष यी आमाको जीवनबारे अझै जान्न चाहनुहुन्छ ? भिडियोलिंक क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
वर्षाले जलमग्न काठमाडौं (फोटो फिचर)

काठमाडौं । काठमाडौंमा शुक्रबार दिउँसो एक्कासी भारी वर्षा भएको छ । पछिल्ला केहिदिन

३ दशकदेखि पत्रिकाको पहिलो पृष्ठमा, कार्टुनिस्ट अविन यसरी बनाउँछन् कार्टुन चित्र

कार्टुनलाई हतारको चित्रकला पनि भनिन्छ । अन्य चित्रजस्तो नदेखिएपनि यसले पार्ने प्रभाव उत्तिकै

मुस्लिम धर्मावलम्बीहरूले यसरी मनाए ईद उल फितर

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘ईद उल फित्र’ पर्व धार्मिक आस्था एवं

‘केयरफ्री स्नेहा’ भर्सेस ‘केयरफुल स्नेहा’ ! यसरी बनिन् जनावरप्रेमी

काठमाडौं । सबैको जीवनमा कुनै न कुनै टर्निङ प्वाइन्ट आउँछ जसले उसको सोच,