चौथो राष्ट्रिय खुल्ला तेक्वान्दो आइतबारदेखि 

लोकपथ
78
Shares

काठमाडौं । चौथो राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता आगामी आइतबारदेखि सुरु हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को सहयोगमा  प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता संयोजक तथा तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा देशभरका ६ सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने जानकारी दिए ।

प्रतियोगितामा गेरोगीतर्फ सिनियर पुरुष÷महिलामा समान ६÷६ गरी कुल १२ स्पर्धा र जुनियरतर्फ पुरुष÷महिलामा समान १०÷१० गरी २० स्पर्धामा भिडन्त हुनेछन् । यसैगरी पुम्सेको व्यक्तिगत, समूहगत र जोडीसहित १२ स्पर्धा समावेश गरिएको छ । गेरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यो प्रतियोगिता इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को छनोट पनि हो ।  यसबाट तीन महिला र तीन पुरुष गरी ६ खेलाडी उक्त च्याम्पियनसिपका लागि चयन हुनेछन् ।

सिनियर तौल समूहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइनेछ । जसमा विजयी हुनेले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । दक्षिण कोरियाका लागि छनोट हुने सबैले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता आगामी अगस्ट २३ र २४ मा दक्षिण कोरियाको सोलमा हुँदैछ ।

यसैगरी प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पाउनेछन् । साथै, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट निर्णायकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

आइओएफटीसी मुख्यालयका निर्देशक ग्रान्ड मास्टर दिवाकर महर्जनले सन् २००० देखि सुरु भएको आइओएफटीसीको उद्देश्य नै खेलाडी एकताबद्ध गराएर मैत्रीपूर्ण वातावरणमा तेक्वान्दोको अनुभव दिलाउनु रहेको बताए ।

नेपालबाहिर अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको आयोजना हुँदा खेलाडी छनोट गर्ने प्रावधानअनुरुप यसपटक पनि यो प्रतियोगिता गराउन लागेको जानकारी उनले दिए ।

यस्तै, नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा सहसंयोजक अशोक खड्काले यो खुला प्रतियोगिता भएकाले सबै खेलाडीको सहभागिता रहने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?