रोयल इन्फिल्डको पोकर रनको नयाँ संस्करण अप्रिल १२ बाट हुने

लोकपथ
105
Shares

काठमाडौं । रोयल इन्फिल्ड पोकर रनको नयाँ संस्करण अप्रिल १२ अर्थात् चैत ३० देखि सुरू हुने भएको छ।

एड्भेन्चर ट्राभल कम्पनी स्याकर्ड समिटले सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौं रोयल इन्फिल्डका विभिन्न मोडलका मोटरसाइकल राइडर सहभागी टोली पोखरा पुगेर रमाइलो गर्ने कार्यक्रम रहेको जानकारी दिएको हो। नयाँ वर्षलाई स्वागत गर्दै एउटा महान उत्सवको रुपमा मनाउन यस कार्यक्रम आयोजना गर्ने भएको आयोजकले जनाएको छ ।

एड्भेन्चर ट्राभल कम्पनी स्याकर्ड समिटले सन् २००९ देखि गर्दै आएको पोकर रनको यस पटक १४ औं संस्करण हो।

यस पटकको कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, अस्ट्रिया लगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित १५० को हाराहारीमा सहभागीहरु रहनेछन्।

निश्चित स्थानबाट प्रारम्भ हुने पोकर रन गन्तव्यसम्म पुग्दा ५ वटा बिन्दु निर्धारण गरिएको हुन्छ। राइडरहरुका लागि पोकर हात पार्नु यो इभेन्टको मुख्य उद्देश्य हो। तर यो भन्दा बाहेक विभिन्न तरिकाले डिजाइन गरिएको आफ्नो मोटरसाइकल शो गर्नु पनि यसको अर्को आकर्षण हो । बेस्ट इन्फिल्ड अर्थात ओरिजिनल डिजाइन र बेस्ट कस्टमाइज्ड मोटरसाइकललाई सो अवसरमा पुरस्कृत समेत गरिने छ ।

कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य उदेश्य भनेको नै मोटरसाइकल यात्रा मार्फत भातृत्वको विकास गर्नु हो। यसको अर्को रमाइलो पक्ष भनेको सहभागीलाई प्रदान गरिने सुन्दै रोचक लाग्ने विभिन्न किसिमका पुरस्कारहरु दिइन्छ । बेस्ट पोकर हात, बेस्ट इन्फिल्ड अवार्ड, सपोर्टिङ्ग वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लामो दूरी राइडर र हार्ड लक अवार्ड (यात्रा अवधिभर जसको मोटरसाइकलले सबै भन्दा धेरै दुःख दियो) लगायतका अवार्ड दिइने कम्पनीले जनाएको छ ।

नयाँ वर्ष २०८१ को पहिलो दिन च्यारिटी राइड र विभिन्न पुरस्कार वितरणको कार्यक्रम सम्पन्न गरी अर्को दिन राइडरहरु आफ्नो गन्तव्यमा फर्किने छन् ।

समुहगत वा व्यक्तिगत मनोरन्जनका निम्ति मात्रै नभई यस पोकर रन नेपाल कार्यक्रमले सामाजिक उत्तरदायित्व बहनको कार्य पनि गरिने कम्पनीले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?