कूटनीतिक नियोग र विकास साझेदारहरुसँग प्रधानमन्त्रीले मागे सहयोग

लोकपथ
39
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाखमा हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । उनले सम्मेलनलाई सफल पार्न कूटनीतिक नियोग र विकास साझेदारहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

सिंहदरबारमा मंगलबार आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताए ।

‘लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दछौं,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।
संघीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै दाहालले सरकार लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।

‘लगानी सम्मेलनको मञ्चले लगानीकर्ताहरू, विकास साझेदारहरू, वित्तीय संस्थाहरूलगायत सरोकारवालाहरूलाई एकजुट हुन, अवसरहरू खोज्न, दीर्घकालीन साझेदारीलाई बढावा दिन सहज तुल्याउनेछ,’ उनले भने ।

सरकारले विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गरेको जानकारी दिँदै दाहालले सम्मेलनको सफलता सम्भावित लगानीकर्ताहरूले देखाएको चासो, कानुनी र नीतिगत सुधारहरूमार्फत अनुकूल व्यापार वातावरणको सृजना गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?