ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशमाथि एलन मस्कको आक्रोश, संविधानलाई धोका दिएको आरोप

लोकपथ
52
Shares

काठमाडौं । एलोन मस्कले ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशप्रति आक्रोश व्यक्त गरेका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्डर डे मोरेसले ब्राजिलमा धेरै सोशल मिडिया अकाउन्टहरू ब्लक गरेको र धेरै प्रयोगकर्ताहरूलाई जेलमा हालेको आरोप पनि लगाइएको छ। यी सामाजिक सञ्जाल अकाउन्टले ब्राजिल सरकारविरुद्ध गलत समाचार फैलाएको दाबी गरिएको छ । ब्लक गरिएका अकाउन्टहरूमध्ये धेरै खाताहरू ब्राजिलका सामाजिक सञ्जाल प्रभावकारीहरूका हुन्।

एलोन मस्कले सामाजिक सञ्जालमा सेन्सरसिप गरेको भन्दै मस्कले न्यायाधीश मोरेसमाथि सामाजिक सञ्जालमार्फत् कडा रुपमा प्रस्तुत भएका छन्। उनले ती न्यायाधीशले ब्राजिलका जनता र संविधानलाई धोका दिएको भन्दै राजीनामा दिनुपर्ने नभए महाअभियोग लगाउनुपर्ने भन्दै कटाक्ष गरे ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यी न्यायाधीशले मनमानी ढंगले ब्राजिलका जनता र संविधानलाई धोका दिइरहेका छन् । राजीनामा दिनुपर्छ वा महाभियोग लगाउनुपर्छ र पदबाट हटाउनुपर्छ ।’

त्यस्तै मस्कले ती न्यायाधीशको कारण सामाजिक सञ्जाल एक्स बन्द गर्ने धम्की दिएको र त्यसका कारण राजस्वमा समेत असर पर्ने बताएका छन् ।

‘यस न्यायाधीशले हामीमाथि ठूलो जरिवाना लगाएका छन् र हाम्रा धेरै कर्मचारीहरूलाई पक्राउ गर्ने धम्की दिएका छन् र ब्राजिलमा एक्स बन्द गर्ने धम्की दिएका छन्। यसका कारण, हामीले ब्राजिलमा सबै राजस्व गुमाउन सक्छौँ र हामीले ब्राजिलमा हाम्रो कार्यालय बन्द गर्नुपर्ने हुन सक्छ, तर हाम्रो लागि नाफा भन्दा हाम्रा सिद्धान्तहरू महत्त्वपूर्ण छन्।’ उनले भनेका छन् ।

न्यायाधीश मोरेस ब्राजिलमा चर्चित नाम हो। कतिपयले उनलाई विवादास्पद ठान्छन् भने कतिपयले उनलाई लोकतन्त्रको संरक्षक भनेका छन् । मोरेस ब्राजिलको सुपीरियर इलेक्टोरल ट्रिब्युनलका प्रमुख पनि हुन्। मोरेसका आलोचकहरूले उनलाई ब्राजिलमा अभिव्यक्ति स्वतन्त्रता समाप्त गर्न खोजेको आरोप लगाउँछन्।

हालै मोरेसले सोसियल मिडियामा धेरै प्रमुख अकाउन्टहरू बन्द गर्न आदेश दिएका छन्। ब्लक गरिएका धेरै अकाउन्टहरू ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूको भएको आरोप लगाइएको छ । सन् २०२३ मा बोल्सोनारोलाई अलेक्जान्ड्रे डे मोरेसको नेतृत्वमा रहेको चुनावी न्यायाधिकरणले राष्ट्रपतिको चुनाव लड्न अयोग्य घोषित गरेको थियो। २०२२ को राष्ट्रपतीय चुनावमा बोल्सोनारोको पराजय पछि, उनका समर्थकहरू ब्राजिलको संसदमा प्रवेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?