सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिँदै, समीकरण मिलाउन एमाले–माओवादी गम्भीर वार्तामा

लोकपथ
390
Shares

सरकारको नेतृत्व गर्ने नाउपाको दाउ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको तयारी गरेका छन् ।

आज विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाहले आफ्नो पक्षमा मत नदेखिने भएपछि राजीनामाको सुझावहरु आएका छन् ।

आज बसेको सुदूरपश्चिम कांग्रेस संसदीय समिति बैठकमा सरकारको पक्षमा मत नआउने अवस्था भए राजीनामा दिएर मार्गप्रसस्त गर्न सुझाव आएको हो ।

सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बमले विश्वासको मत फेस गर्ने वा राजीनामा दिने निर्णयाधिकार मुख्यमन्त्रीलाई दिएको लोकपथलाई जानकारी दिए ।

‘हामीले संसदीय दलको बैठकमा फेस गर्न नसके राजीनामा दिन सुुझाव दिएका छौँ । त्यसको अधिकार उहाँलाई नै दिएका छौँ ।’ बमले लोकपथसँग भने ।

त्यस्तै केन्द्रीय नेताहरुसँग समेत फोनमा परामर्श गरिरहेकाले केन्द्रको निर्णयको आधारमा मुख्यमन्त्रीले निर्णय गर्न सक्ने उनले बताए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्दछ । सुदूरपश्चिमको अंगणीत अनुसार नेपाली कांग्रेससँग १९ सिट रहेको छ । कांग्रेसलाई समर्थन गर्न सक्ने दल राप्रपासँग १ सिट र एक स्वतन्त्र सांसद रहेका छन् । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन ह्वीप नै जारी गरिसकेको कारण शाहको पक्षमा मत नपर्ने देखिएको हो ।


यता एमालेको १०, माओवादी केन्द्रको ११, एकीकृत समाजवादीको ४, नागरिक उन्मुक्ति पार्टीको ७ सिट रहेको छ ।

सुदूरपश्चिममा निर्णायक मानिएको दल नागरिक उन्मुक्तिले विश्वासको मत नदिन ह्वीप जारी गरेका कारण शाह नेतृत्वको सरकार संकटमा परेको हो ।

माओवादी एमाले सरकार बनाउने कसरतमा


सुदूरपश्चिमा कांग्रेस नेतृत्वको सरकार ढल्ने पक्कापक्की भएपछि नयाँ समीकरण अनुसार अघि बढ्न एमाले माओवादीले छलफल थालेका छन् । मुख्यमन्त्री शाहले प्रदेश सभा फेस वा राजीनामाको कुरा आएपछिको परिस्थितीका विषयमा आफूहरु छलफल थालेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य ओमविक्रम भाट सरलले लोकपथलाई जानकारी दिए ।

‘नयाँ समीकरण बनेपछि हामी सोही अनुसार अघि बढ्ने तयारीमा थियौँ । आज मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना देखिँदैन त्यसकारण उहाँ पदबाट बाहिरिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा हामी गम्भीर छलफल गरिरहेका छौँ ।’ उनले भने ।

त्यस्तै केन्द्रीय नेताहरुको सर्कुलर अनुसार अघि बढ्ने तयारीमा आफूहरु रहेको समेत उनले बताए ।
‘सत्ता साझेदारीताको विषयमा हामी केन्द्रको निर्णय कुरिरहेका छौँ । केन्द्रबाट के सर्कुलर आउँछ त्यही अनुसार अघि बढ्ने तयारी छ ।’ उनले भने ।

सुदूरपश्चिमा नाउपाको नजर

सरकार बनाउन निर्णायक शक्ति मानिएको नागरिक उन्मुक्ति पार्टीले सुुदूरपश्चिम सरकारमा दाबी गरिरहेको छ । आन्तरिक किचलोमा रुमल्लिएको नागरिक उन्मुक्ति पार्टीभित्र केन्द्र सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयले झगडा थप बल्झिएको छ । यसअघि नै मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरिसकेको नागरिक उन्मुक्ति पार्टी केन्द्रमा केही थान मन्त्री र प्रदेशको नेतृत्वका लागि बार्गेनिङ गरिरहेको छ ।

गत फागुन २१ गते केन्द्रको सत्ता फेरबदलपछि त्यसको असर प्रदेशमा पनि परेको हो । यसअघि बुधबार कर्णालीमा पनि माओवादी नेतृत्वको सरकार रहेकोमा एमालेलाई सत्ता छाड्नुपर्ने केन्द्रको सर्कुलर अनुसार विश्वासको मत माग्न रोस्ट्रम पुगेका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । अन्य प्रदेशमा पनि केन्द्रीय सत्ता समीकरण अनुसार सरकार बन्ने र भत्किने खेल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?