उम्मेदवारी टुंग्याउन कांग्रेस अझै अन्योलमा, बुढानिलकण्ठ बैठकले निकाल्ला निष्कर्ष ?

लोकपथ
112
Shares

काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्य दलहरुले उम्मेदवारी टुंगो लगाएर निर्वाचन प्रचारप्रसार थाल्दा पनि कांग्रेस भने अझै अन्योलमा परेको छ ।

यसअघि कांग्रेसले उम्मेदवार टुंगो लगाउन छलफल निरन्तर गरे पनि पार्टीको आन्तरिक किचलोका कारण अन्योलता कायमै छ ।

अहिले पनि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक जारी रहेको छ । आजको बैठकले उम्मेदवारी टुंग्याउने विषयमा ठोस निर्णय गर्ने कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले लोकपथलाई जानकारी दिए ।

‘अहिले उम्मेदवारी टुंगो लगाउने विषयमा सभापतिज्यूको निवासमा संसदीय बोर्डको बैठक जारी रहेको छ । यो बैठकले ठोस निर्णय निकाल्छ भन्ने आशा गरौँ ।’ उनले भने ।

त्यस्तै आजै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा गत निर्वाचनका प्रत्यासी उम्मेदवार डम्बर खड्कासहितको नाम सिफारिसमा परेको छ ।

सभापति देउवाले खड्कालाई नै अघि बढाउने मनसाय देखाएपछि महामन्त्रीसहित अन्य शीर्ष नेताहरुले भने त्यसमा विरोध जनाएका थिए । डा. शेखर कोइरालासहितका नेताहरुले नाम सिफारिसमा परेका महाधिवेशन प्रतिनिधि भेषराज आचार्यलाई अघि बढाउनुपर्ने धारणा राख्दै आइरहेका छन् ।

त्यस्तै वैशाख १५ कै दिन बझाङ क्षेत्र नं १ प्रदेश सभा ‘क’ को उम्मेदवारका विषयमा समेत सहमति जुट्न सकेको छैन । अन्य व्यक्तिहरुको नाम समेत मातहत कमिटीबाट सिफारिसमा परे पनि जगत जोशी र अभिषेक सिंहबीच हानथाप चल्दा उम्मेदवारी टुंगो लगाउन कांग्रेसलाई हम्मेहम्मे परेको हो ।

त्यसो त नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार टुंगो लगाएर प्रचारप्रसार गरिरहेको छ । सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले पनि एमालेकै उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने संकेत गरिसकेको छ ।

गत निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट निर्वाचित एमालेका सुवास नेम्वाङको गत भदौमा निधन भएसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?