आर्सनल शीर्ष स्थानमा फर्कियो, सिटीको जितमा फोडेनको ह्याट्रिक

लोकपथ
168
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति भएको खेलमा लुटन टाउनलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलले ३० खेलबाट ६८ अंक बनाउँदा एक खेल कम खेलेको लिभरपुल भने ६७ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।

बुधबार राति आर्सनलाई जिताउनका लागि मार्टिन ओडगार्डले एक गोल गर्दा अर्को गोल भने उपहार पाएको थियो । ओडगार्डले के हार्भाटेजको पासमा गोल गर्दै २४ औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा लुटनका डाइकी हशीओकाले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो । दोस्रो हाफमा दुवै टिमबाट थप गोल नभएपछि आर्सनल अन्ततः २–० को जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भयो । पराजित भएको लुटन टाउन भने २२ अंकका साथ पुछारबाट तेस्रो स्थानमा रहेको छ भने उसका रेलिगेशन खतरा बढ्दै गएको छ ।

प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने एस्टन भिल्ला चौथो स्थानमा यथवात रहेको छ । सिटी र दोस्रो स्थानमा रहेको लिभरपुलको समान ६७ अंक हुँदा चौथो स्थानमा रहेको स्टन भिल्ला भने ८ अंकले पछि रहेको छ ।बुधबार राति सिटीलार्य जिाउनका लागि फिल फोडेनले ह्याट्रिक गर्दा रोड्रीले एक गोल थपेका थिए । एस्टनका लागि जोन डुरनले एक गोल फर्काए ।

रोड्रिले ११औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा एस्टनका जोनले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि फिल फोडेनले ह्याट्रिक पूरा गर्दा सिटी फराकिलो अन्तरले विजयी भयो । फोडेनले पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका थिए ।

६२औं र ६९ औं मिनेटमा लगातार गोल गर्दै उनले ह्याट्रिक नै पूरा गरेपछि सिटी अन्ततः ४–१ को फराकिलो अन्तरले विजयी भयो । अर्को खेलमा ब्रेन्टफोर्ड र ब्राइटनले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिग अन्तर्गत आज राति सवा १२ बजे लिभरपुल र सेफिल्ड युनाइटेड तथा १ बजे चेल्सी र म्यानचेस्टर युनाइटेड आमने सामने हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?