बागमतीमा एमालेको दाबी– ‘हामी सरकारमा आएपछि एकैदिनमा समस्या हल भयो’

लोकपथ
325
Shares

काठमाडौं । नेकपा एमालेले बागमती सरकारमा पार्टीको प्रवेशसँगै सुधारको काम हुन थालेको दाबी गरेको छ ।

आज मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकमा बोल्दै एमाले बागमती प्रदेश सभाका प्रमुख सचेतक मधुसुधन पौडेलले सो दाबी गरेका हुन् ।

विगतको सरकार रहँदा बजेट व्यवस्थापनमा केही समस्या रहेको बताउँदै एमाले सरकारमा प्रवेश गर्ने बित्तिकै त्यसको निराकरण हुन थालेको दाबी गरे ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया अर्थमन्त्रीका रुपमा आइतबार मन्त्रालयमा हाजिर भएपछि नै त्यसको निराकरण हुन थालेको दाबी गरेका हुन् ।

‘विगतको सरकार रहँदा बजेट व्यवस्थापनमा अलिअलि केही समस्या आए । एमाले प्रवेश हुने बित्तिकै बजेट व्यवस्थापनको त्यो एउटा विषय अलि निराकरणको अवस्थामा पुगेको छ । हाम्रो संसदीय दलको नेता जगन्नाथ थपलिया अर्थमन्त्री भएर हिजो हाजिर भएकै दिनबाट विशेष समितिको प्रस्तावलाई अर्थमन्त्रालयले कार्यान्वयन गरेको छ । र बजेट विनियोजन समेत गरेर तल पठाएको छ ।’ उनले भने ।

त्यस्तै कुनै दलको बहुमत नआएको अवस्था भए पनि पटकपटक सत्ता समीकरण फेरबदलले जनतामा निराशा फैलिएको बताए । साथै केन्द्रको समीकरण भत्किने बित्तिकै प्रदेशको समीकरणमा समेत फेरबदल आउनु गम्भीर विषय रहेको समेत बताए ।

साथै आफ्नो दल नेकपा एमालेले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको प्रदेश सभा सचिवालयलाई जानकारी समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?