काठमाडौं । पछिल्लो समय विवाद सतहमा आएको नागरिक उन्मुक्ति पार्टी भित्र हात हालाहालको अवस्थासम्म पुगेको छ ।
आज बसेको पार्टीको बैठकमा नागरिक उन्मुक्ति पार्टीका केही नेताहरुमाथि हातपातको स्थिती सिर्जना भएको हो ।
पार्टी कार्यालय अनामनगरमा पार्टी अध्यक्ष रञ्जिता चौधरी र संरक्षक रेशम चौधरी पक्षबीच हात हालाहालको अवस्था सिर्जना भएको हो ।
पार्टी बैठकमा सहमतिको प्रस्ताव अघि सार्दा केन्द्रीय सदस्य रमेश विकमाथि हातपातको स्थिती सिर्जना भएको टिकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार टिकापुरमा सम्पन्न महाधिवेशनबाट आएको कमिटीलाई निर्वाचन आयोगले मान्यतान नदिएपछि संस्थापकहरुकै कमिटीलाई मिलाएर अघि बढ्ने विषयमा छलफल चलिरहेको थियो । आयोगले नै वैधानिकता नदिएपछि पार्टी जोगाउने विकल्पका रुपमा एउटै मोर्चा बनाएर अघि बढ्ने विषयको छलफलमा विवाद हुँदा दुई पक्षबीच हात हालाहालको अवस्था सिर्जना भएको हो ।
‘पार्टीलाई एक ढिक्का बनाएर लैजाने विषयमा छलफल चलिरहेका बेला झैझगडा भयो । पार्टी केन्द्रीय सदस्य रमेश विकमाथि हातपात समेत भयो ।’ उनले भने ।
त्यसो त नयाँ गठबन्धन बनेपछि त्यसलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच मनमुटाव हुँदै आइरहेको थियो । रञ्जिताले वर्तमान गठबन्धनलाई नै साथ दिएर अघि बढ्नुपर्छ भन्ने अडान कायम राखेकी थिइन् तर रेशमले भने आफूहरु तटस्थ बस्नुपर्ने धारणा अघि सार्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया