विद्यालय सुधारका लागि अभिभावको अनुगमन महत्वपूर्ण हुन्छ : पूर्वमन्त्री पौडेल

लोकपथ
14
Shares

काठमाडौं । पूर्वशिक्षामन्त्री एवं माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अनुगमनमा अभिभावकको चासो र सरोकार केन्द्रित नभए विद्यालय क्षेत्रको सुधार हुन नसक्ने बताएका छन् ।

आइतबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको दशौं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको सम्बन्ध र समन्वय राम्रो भएको विद्यालयहरुमा सुधार भएको उल्लेख गरे ।

उनले भने,‘विद्यालयको अनुगमन गर्ने ठाउँमा अभिभावक नै हुनुपर्दछ । अनुगमनका क्रममा अभिभावकको चासो र सरोकारमा केन्द्रित नभएको अवस्थामा विद्यालयको सुधार हुन सक्दैन । केही विद्यालयका उदाहरण हेर्ने हो भने जहाँजहाँ विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको तालमेल मिलेको छ त्यहाँ सुधार भएको छ ।जहाँ मिलेको छैन त्यहाँ समस्या भएको छ ।’

खासगरि व्यवस्थापन समितिको नेतृत्वको चयनका क्रममा झगडा भएका विद्यालयमा समस्या भइरहेको उल्लेख गर्दै पौडेलले यसको समाधानका लागि अभिभावकको भूमिका अपरिहार्य भएको बताए ।पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न सरकारले तोकेका निकायको काम भयो अथवा भएन भनि अनुगमन गरि खबरदारी गर्नु समेत अभिभावकको कर्तव्य हुने उनको भनाइ थियो ।

उनले भने,‘शिक्षा क्षेत्रको सुधारका लागि सरकारले तोकेका निकायहरुले के कस्तो काम गरे ? उनीहरुले गरेको काम ठिक छ कि छैन भनेर अनुगमन गर्ने मुख्य दायित्व अभिभावकको पनि हो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?