अमरेशको आक्रोश : ‘न्याय किनबेच हुन थाल्यो, न्यायाधीशहरुको मोबाइल मनिटरिङ गर्नुपर्यो’

लोकपथ
77
Shares

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले न्यायपालिकाको निर्णयप्रति प्रश्न उठाएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले राजनीतिक पहुँचका आधारमा न्यायपालिकामा नियुक्ती हुने र त्यसैको आधारमा न्यायप्रणाली प्रभावित हुने प्रवृत्ति रहेको बताए ।

‘न्यायपालिकाको नियुक्ती भागबण्डाको आधारमा भैरहेको छ । भागबण्डामा नियुक्ती हुनु आफैँमा एउटा कुरा हो । तर भागबण्डाको आधारमा निर्णय गर्ने प्रक्रिया त्यो दुखद रहेको छ । यसले न्यायपालिकाको छवीलाई माथि पुर्याउँदैन ।’ उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशज्यूहरुको मोबाइल रेकर्ड मनिटर हुनुपर्दछ । कुन नेताको पहुँचको आधारमा कुन निर्णय प्रभावित हुने गर्दछ ।’

वर्षौँदेखि भ्रष्टाचारका मुद्दा हुने गरे पनि त्यसलाई न्यायपालिकाले पेशी नदिने तर उच्च राजनीतिक पहुँचका आधारमा पेशी दिएर छिट्टै निर्णय दिने गरेकोप्रति पनि कटाक्ष गरे ।

सरकारले राजनीतिक पहुँचका आधारमा विभिन्न निर्णयहरु गर्ने गरेको बताउँदै न्यायपालिकाले पनि पहुँचकै आधारमा न्याय निरुपण गर्ने गरेको आरोप लगाए ।

‘जसरी सरकारले पनि पहुँचको आधारमा विभिन्न निर्णय गर्छ । त्यसैगरी न्यायपालिकाले निर्णय गर्न थाल्यो भने न्यायपालिकामा प्रश्न उठ्नुु आफैँमा एउटा दुखद कुरा हो ।’ सांसद सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?