सबै राजनीतिक दलसँग राष्ट्रिय सहमतिको पहल गरिरहेको छु : प्रधानमन्त्री दाहाल

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलसँग राष्ट्रिय सहमति र समझदारीको वातावरण सृजनामा आफु जुटेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले देशको प्रमुख नेतृत्वमा सबै पार्टीलाई समेटिएकाले कहीँ न कहीँ राष्ट्रिय सहमति कायम गर्ने गरी नै पहल गरेको दाबी गरे । सत्ता समीकरणका लागि गठबन्धन बनाउदा सबैलाई रिझाउने प्रयास गरेको उनले बताए ।

उनले भने, ‘मेरो कोसिस सकेसम्म सबै राजनीतिक दललाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र समझदारीको वातावरण बनाउनु नै हो । हुन त कहिलेकाहीँ नेपाली कांग्रेससँग नजिक हुँदा नेकपा एमालेका नेता साथीहरु र नेकपा एमालेसँग नजिक हुँदा कांग्रेसका साथीहरुलाई नमिठो लागेकै छ, त्यो कुरा मैले बुझेको छु । तर, फेरि अहिले हामीले जेलाई बिग सिक्स भन्छौं, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष हामीले हे¥यो भने मलाई गर्व छ । कहीँ न कहीँ राष्ट्रिय सहमतिको वतावरण कायम गर्ने गरी नै हामीले पहल गरेका छौं ।’

मुलुकका प्रमुख ६ पदहरुमा दलीय बाँडफाँट मिलेको भनाइ उनको थियो । सञ्चार क्षेत्रका हकमा उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए । सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको उनले उल्लेख गरे ।

उनले भने, ‘सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिइने छ । आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउनेगरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।’

राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक महत्वलाई सबैले आत्मसात गर्नैपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले आजको प्रमुख राजनीतिक कार्यभार प्राप्त राजनीतिक अधिकारहरू सुदृढ गर्दै संविधानको प्रगतिशील कार्यान्वयन सुनिश्चित गर्नु र त्यसको जगमा समाजवादउन्मुख समृद्धि हासिल गर्नु रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?