‘नयाँ समीकरण विरुद्धका घेरा तोड्ने लडाइँ जारी छ’

लोकपथ
624
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले सरकारको नेतृत्व गर्दै थालेको नयाँ समीकरणले मात्र समाजवादको बाटो कोर्न सक्छ भन्ने विश्वासको साथ ‘जनयुद्ध’को बेलामा भन्दा धेरै खटेर अघि बढेको बताएका छन् ।

शनिबार काठमाडौंमा माओवादीको ‘२४औं जेल ब्रेक स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ समीकरण रणनीतिक, दूरगामी र क्रान्तिकारी  भए तापनि धेरै जोखिम र चुनौतीपूर्ण रहेको बताए । नयाँ समीकरणका विरुद्धका लगातार घेरा तोड्ने लडाइँ जारी रहेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले हामी समाजवादी मोर्चा भनेर हामीले एउटा केन्द्रीकरण गर्ने कोसिस गरेका छौं । अहिले सरकारको नेतृत्व गर्दै जुन नयाँ समीकरण गरेको छु, त्यो रणनीतिक छ, दूरगामी छ । मेरो विश्वासमा क्रान्तिकारी पनि छ, जोखिम छ, चुनौती छ । तर, यसले मात्रै सबै देशभक्त वामपन्थी र कम्युनिष्टलाई एक ठाउँमा केन्द्रीत गर्न सक्छ र यसले मात्रै नेपाली मौलिकता विशेषताको समाजवादको बाटो कोर्न सक्छ भन्ने विश्वासको साथ म अहिले जनयुद्धको बेलामा भन्दा धेरै खटेको छु, बढी लडेको छु । लगातार घेरा तोड्ने लडाइँ जारी छ । म त लडिराखेकै छु ।’

उनले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन आवश्यक रहेको बताए । राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाउने उनको भनाइ छ ।

उनले भने, ‘माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ ।’

निराशा बाँड्ने तथा पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गदै उनले सबैलाई एकताबद्ध भएर देश र जनताको पक्षमा उभिन आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?