‘सुन साइँली’ गीतका सर्जक हर्क, जो चालिस कटेसी पनि रमाएनन्

लोकपथ
780
Shares

सुन साइँली, साइँली, परदेशबाट म आउँला
सुन साइँली, साइँली, चालिस कटेसी रमाउँला

हेमन्त रानाको स्वर र कालिप्रसाद बासकोटाको संगीत रहेको यो गीत सुनिरहँदा र भिडियो हेरिरहँदा धेरैलाई गीतका गीतकारले आफ्नो भोगाईलाई शब्द र दृश्यमार्फत गीत तथा पर्दामा उतारेको लाग्दो हो । तर वास्तविकता फरक छ । यो गीतका गीतकार हर्क साउद, जो अहिले उमेरले ४२ को यात्रामा छन्, न त ‘साइँली’लाई सम्झिएर परदेशिए, न त ‘साइँली’सँग चालिस कटेसी रमाए नै । उनी काठमाडौंमै छन्, गीत लेखनसँगै व्यापार व्यवसायमा व्यस्त छन् ।

सांगीतिक जीवनमा ‘सुन साइँली’हर्कको पहिलो गीत हो । जुन गीत अहिले जोकोहीको मन र दिमागमा बसिसकेको छ । पहिलो गीत नै ‘सुपरहिट’ भएपछि हर्कले पछाडि फर्केर हेर्नुपरेन ।


चालिस काट्दा नरमाएका हर्क
हर्कलाई भेट्ने अधिकांशले उनी चालिस कटेपछि रमाएका छन् या छैनन् भनेर सोध्ने गर्छन् । किनकी उनले यो गीत लेख्दा उमेरले ३५ छेउछाउ थिए । अहिले ४० को उकालो लाग्दा पनि उनले यही प्रश्नको सामना गरिरहेका छन् ।

‘गीतको भाव र मेरो उमेरको हिसाबले रमाउनुपर्ने हो । तर त्यो रमाउने परिस्थिति तत्काललाई छैन । हामी भूकम्प, नाकाबन्दी, कोरोना महामारी जस्ता ठूला प्रकोपको सामना गरेर हिँडिरहेका छौं । अहिले पनि व्यवसाय चलाउन गाह्रो छ’, हालैको भेटमा उनी भन्दै थिए, ‘अहिले त झन् मन्दीको अवस्था छ । आर्थिक व्यवस्था तरल अवस्थामा छ । कुनबेला कतातिर ढल्किन्छ कसैलाई थाहै छैन । त्यसकारण पनि रमाइहाल्ने अवस्था बनेको छैन ।’

हर्कको बुझाईमा गीतमा यथार्थवादी भन्दा पनि मनोरञ्जन र कला संस्कृतिका विषयसँगै काल्पनिक कुरा हुन्छन् । ती कतिपय वास्तविक जीवनसँग नजिक हुन्छन् र कतिपय हुँदैनन् । ‘त्यो गीतमा भनेका कुराहरु अहिले मेरो जीवनमा लागु नभइसकेको अवस्था छ । त्यो त देश परिस्थिति अनुसार हुने हो । मैले चाहेर मात्रै हुँदैन् । गीतले भनेअनुसारको रमाउन र खुशी हुन धेरै कुराले साथ दिनुपर्छ’, हर्क भन्छन् ।


कसरी जन्मियो ‘साइँली’ ?

हर्क पुतलीसडकस्थित बागबजारमा रहेको श्रेष्ठ टेलरिङ परिसरमा रहेको आराधना क्याफेका सञ्चालक हुन् । यही क्याफेमा व्यस्त भइरहँदा संगीतकार कालिप्रसाद बासकोटासँग उनको भेट भएको हो । हर्ककै भनाईमा त्यो भेट सांगीतिक सहकार्य भन्दा पनि साथित्व र मित्रवत भेटघाट मात्र थियो ।

‘कालिप्रसाद बासकोटासँग नियमित भेट भइरहन्थ्यो । एकदिन उहाँले ‘दुरदराजका गाउँको नेपाली जनजीवनलाई समेटेर गीत लेखौं नँ’ भन्नुभयो । उहाँले भनेजस्तो दुरदराजका गाउँको नेपाली जनजीवनसँग म जोडिएको थिएँ । मेरो घर डोटी हो । जसकारण मलाई शब्द कोर्न सजिलो भयो’, उनी भन्दैथिए, ‘जोकोही विदेश जाँदा सम्झिने भनेको आफ्नै गाउँघर हो । त्यहाँको खेतीपाती हो । बेँसी फाँट हो । यो गीतमा त्यही कुराको झल्को दिएको छु ।’

हर्क विशेषत यथार्थपरक गीत कोर्न रुचाउँछन् । उनका अहिलेसम्म सार्वजनिक भएका गीत सुन्दा पनि त्यसको झल्को देखिन्छ । हर्क ‘साइँली’को रचन गर्वलाई यथार्थसँग जोड्छन् ।

‘हामीले जुन बेला गीत निकाल्यौं, त्यसअघिको परिपाटी र अहिले नेपाली समाजमा भइरहेको घटनाक्रम एउटै हो । किनभने धेरै पढेलेखे पछि युरोपका मुलुक, अमेरिका, अष्ट्रेलिया जाने चलन छ । जो राम्रोसँग पढेका छन् तर देशमै केही गर्छु भन्नेले लोकसेवा लडेर सरकारी कर्मचारी भएका छन् । त्यो भन्दा अझ कमलाई चाहिँ युरोप, अमेरिका, अष्ट्रेलिया भन्दा पनि साउदी, कतार, मलेसिया जस्ता खाडी मुलुक छँदैछ नि भन्ने धारणा छ’, उनी भन्छन्, ‘हाम्रो तेस्रो वरियताक्रमको अन्तिम उद्देश्य नै त्यही हो । अहिले पनि अभिभावकहरु घरमै बसेर कुटो र कोदालो गर्नुभन्दा ‘विदेश गइदिए हुन्थ्यो’, ‘पैसा कमाए हुन्थ्यो’ भन्ने मान्यता राख्छन् । ‘सुन साइँली’ त्यही सन्दर्भमा लेखिएको गीत हो ।’


‘सुन साइँली’मा चालिस नै किन ?
गीतमा ‘चालिस’ जोडिनु प्रतिको बुझाई आम मानिसको आ–आफ्नै छ । तर हर्कको बुझाई भने अलिक भिन्न छ । ‘१६ वर्षमा एसईई पास गरेपछि विद्यार्थीहरु पासपोर्ट बनाउन थालिहाल्छन् । उनीहरुको चाहना विदेशमा गएर पढ्ने नै हुन्छ । विदेश गइसकेपछि समयको अन्तराल भनेको २० वर्ष पछि नै हो । २० वर्षअघि उसको आर्थिक अवस्था न्यून भए पनि २० वर्षपछि उसले कमाई सही ठाउँमा सञ्चित गर्न सक्यो भने त्यो २० वर्षमा उसले धेरै पैसा कमाउँछ’, हर्क भन्छन् ।

उनी अगाडि भन्छन्, ‘एउटा दुरदराजमा बसिरहेको मान्छे, सदरमुकाममा आएर बस्न सक्ला । सदरमुकाममा बसिरहेको मान्छे कुनै विकसित सहरमा आएर बस्ला । देश भित्रै बसाई सरेर परिवारको र आफ्नो आर्थिकस्तर बढाएको हुनसक्छ । त्यो हिसाबलाई हामीले मापन गरेर ‘चालिस’लाई गीतमा समेटेका हौं ।’


बाल्यकालमा रमाएका हर्क

आम मानिस झैं हर्क पनि बाल्यकालमा सबैभन्दा बढी रमाएका छन् । ‘त्यो बेलाको जीवन बेग्लै मज्जा थियो । जतिबेला धेरै पारिवारिक जिम्मेवारी आइपरेको हुँदैन । बाल्यकालमा पढ्ने र लेख्न निकै रमाउँथे । परिवारमै भए पनि आफ्नै किसिमको स्वतन्त्रता हुन्थ्यो’, उनी सम्झन्छन्, ‘तर बाल्यकालपछिको वयस्क जीवनमा रमाउन गाह«ै छ । किनकी पारिवारिक जिम्मेवारीसँगै अन्य जिम्मेवारीले पनि थिच्दो रहेछ ।’

हर्कका अनुसार बाल्यकालमा उनलाई लेखनमा रुची थिएन । उनी विद्यालयमा हुने सांस्कृतिक कार्यक्रम र नाटकमा बढी रमाउँथे ।


इलामसँग नजिक हर्क
हर्कका अधिकांश गीत आर्टमान्डुबाट सार्वजनिक भएका छन् । ती गीतका पृष्ठभूमि इलाम र पाँचथरसँग जोडिएका छन् । तर उनी भने इलामलाई आफ्नो नजिकको प्रिय ठाउँ ठान्छन् ।

‘म इलामको सुम्बेक माविमा दुई महिना स्वयंसेवकका रुपमा पढाउन गएको थिएँ । यो मैले गीत लेख्न सुरुवात गर्नुअघि नै हो । पूर्वेली टिम र पूर्वसँग मेरो बढी ‘अटेचमेन्ट’ भएका कारणले पनि मेरा गीतमा पूर्वेली शब्द बढी प्रयोग भएका छन्’, हर्क खुल्छन् ।
आर्टमान्डुले सार्वजनिक गरेका गीतहरु ‘तीनपाते’, ‘बाफ’, ‘घुमीघुमी’, ‘के माया लाग्छ र’ र ‘सुनाखरी’मा इलाम र पाँचथर हेर्न र सुन्न पाइन्छ । यी गीतमा हर्ककै शब्द छन् ।


फिल्मको सकस
सामान्यतया गीतकारले फिल्मको कथा, संगीतकार र संगीतको कन्सेप्ट बुझेर गीतको विकास गर्छन् । फिल्मको गीत सिर्जना गर्नु सकस हुने हर्कको भोगाई रहेछ ।

‘निर्देशकलाई गीतकारको काम के हो भन्ने समेत थाहा नहुने अवस्था छ । यति नबुझ्दा उनीहरुसँग काम गर्न झण्झटिलो हुन्छ । मैले निर्देशकलाई पो बुझाउन नसकेको हो कि भन्ने हुन्छ । धेरै जसो निर्देशकहरु नयाँ हुन सक्छन् । भइरहेका निर्देशकहरु पनि फिल्मको स्क्रिप्टको काम गरिरहेका हुन्छन् । सबै तयार हुँदा पनि उनीहरुलाई चाहिएको गीत के हो, क्यारेक्टर के हो, गीत कथाको भाव अनुसार कहाँ राख्नुपर्ने भन्ने थाहा हुँदैन’, हर्क भन्छन् ।

निर्देशकमा आत्मविश्वास नहुँदा धेरै फिल्मका गीतहरु कथाको भाव अनुसार नमिलेको हर्कको दाबी छ । ‘निर्देशकहरु लहडमा चल्छन् । फिल्म पढेपछि र थोरै प्राविधिक कुराहरु जानिसके पछि म गर्न सक्छु भन्ने उनीहरुमा घमण्ड हुन्छ । उनीहरुमा म निर्माता खोज्न सक्छु भन्ने आत्मविश्वास पनि उत्तिकै हुन्छ । किनकी फिल्म बनाउन त पैसा नै चाहियो । यी दुई कुराले फिल्ममा काम गर्न कठिनाई छ’, हर्क ठोकुवा गर्छन् ।

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को ‘दुब्यो फूल्यो’, ‘प्रेमगीत ३’को ‘हात्तीढुंगामा’, ‘क्याप्टेन’को ‘कर्ली कर्ली कपाल’ जस्ता गीत हर्ककै सिर्जना हुन् ।


गायन र संगीतमा छैन रुची
हर्कलाई गाउन र संगीत भर्नमा रुची छैन । उनी यी दुई कुरा आफ्नो ‘बस’मा नरहेको ठान्छन् । ‘ममा आत्मविश्वास नभएको त होइन । तर सबै कुरा भगवानले दिएको हुँदैन । बसेर रमाइलोका रुपमा गीत गाउन सकुँला, त व्यावसायिक रुपमा सक्दिनँ । घरमा बस्दा मादल ठोकेर गाउने बजाउने तमासा गर्न सकुँला । तर व्यावसायिक रुपमा गाउने र रेकर्ड नै गर्ने रहर छैन’, उनी भन्छन् ।


गीत लेख्न अध्ययन महत्वपूर्ण
हर्कलाई जोकोहीले भेट्दा ‘गीत लेख्न के चाहिन्छ ?’ अथवा ‘गीत लेखनको तत्व के हो ?’ भनेर सोध्छन् । प्रश्न सुन्दा उनी हाँस्छन् र अध्ययन नै महत्वपूर्ण हो भन्ने जवाफ फर्काउँछन् ।

‘मेरो हकमा बाल्यकालदेखि आफूले गरेका क्रियाकलाप, आम मानिससँगको कुराकानी, घुम्दा भेटिने मानिसको बोलीचाली, लवज नै गीतका स्रोत हुन् । यसबाहेक उपन्यास, कविता, कथाको अध्ययनले पनि शब्द सिर्जनामा सहयोग पु¥याउँछ’, उनी भन्छन् ।

हर्कका अनुसार देशमा द्वन्द्वकाल सुरु हुनुअघि गाउँमा गीतका भाव भेटिन्थे । ‘तर राजनीतिक परिवर्तनका नाममा भनौं या क्रान्तिकारीका नाममा भनौं, अहिले त्यो पुस्ता नै गायब भयो । त्यो पुस्ता ग्याप भएपछि अहिले स्वअध्यन, सुनेबुनेका र जानेका कुरालाई गीतमा प्रस्तुत गरेको छु’, हर्क भन्छन् ।

समाजसेवामा हर्क
हर्क सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । उनी रोटरीमा आबद्ध छन् । केही महिनाअघि जाजरकोटमा गएको भूकम्पका पीडितलाई राहत दिन हर्क जाजकोट र डोल्पाको सीमानाको अन्तिम गाउँसम्म कपडा र खाद्यान्न लिएर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?