पक्राउ परेका व्यक्तिको अनावश्यक भर्ना लिएमा अस्पताल र चिकित्सकलाई कारबाही !

लोकपथ
299
Shares

काठमाडौं । विभिन्न मुद्दामा पक्राउ परेका व्यक्तिहरु अस्पताल भर्ना हुन थालेपछि गृह मन्त्रालयले त्यसबारे मेडिकल काउन्सिलसँग राय मागेको छ ।

पक्राउ परेका व्यक्तिहरु अनावश्यक रुपमा अस्पताल भर्ना हुँदा प्रहरी अनुसन्धान र पुर्पक्षमा बाधा पुग्ने र प्रहरीप्रति नै अविश्वासको वातावरण सिर्जना हुने परिस्थितीप्रति ध्यानाकर्षण भएको गृहले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुलाई चिकित्सकीय सहायता उपलब्ध गराउनेबारे अनुसन्धान गरी अध्ययनसहितको राय बुझाउन गृहले पत्र पठाएको हो ।

‘प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलब्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन जरुरी देखिएकाले देहायका विषयमा त्यस काउन्सिलबाट आवश्यक अध्ययन गरी रायसहितको प्रतिवेदन उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’ पत्रमा भनिएको छ ।

गृहले विभिन्न तीन विषयमा राय माग गरेको हो । पक्राउ परेका व्यक्तिका लागि चिकित्सकीय सेवा उपलब्ध गराउनबारे विभिन्न देशले अबलम्बन गरेका कानूनी प्रबन्ध, मापदण्ड र चिकित्सकीय आधार र संलग्नताबारे अध्ययन गर्न भनिएको छ । त्यस्तै चिकित्सकीय सेवा उपलब्ध गराउृने सम्बन्धी नेपालको विद्यमान कानूनी प्रबन्ध वा अभ्यासमा नेपाल मेडिकल काउन्सिलको संलग्नता र हालसम्म काउन्सिल सहभागि भएको घटनाको विवरण र ती घटनाको निष्कर्षसहित चिकित्सकीय सहायतका लागि असामान्य र अविश्वसनीय सिफारिस गर्ने चिकित्सक र भर्ना लिने अस्पताललाई काउन्सिलको आचारसंहिता, आकर्षण हुने वा नहुने अवस्था तथा सम्भावित कारबाहीको आधार र प्रावधानहरुसहितको राय बुझाउन निर्देशन दिइएको हो ।

विभिन्न घटनाको अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्तिलाई हिरासतमा राख्नुपूर्व नै अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले हिरासत छल्न चिकित्सकीय सिफारिसको सहायतामा अस्पताल भर्ना हुने र कतिपय अवस्थामा चिकित्सकले गर्ने गरेको सिफारिस अविश्वसनीय हुँदा जनस्तरबाट समेत प्रश्न उठ्ने गरेको छ ।

केही दिन अघि सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादीका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा हिरासतमा भन्दा बढी समय अस्पतालमा बसेपछि उनलाई स्वास्थ्यको कारण देखाउँदै हाजिरी जमानीमा छाडिएको थियो । त्यस्तै नक्कली भुटानी शरणार्थी पू्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी पनि बिरामी भएको बहानामा अस्पताल भर्ना भएका छन् । नागरिक तहबाट त्यसको व्यापक विरोध भएपछि गृहले त्यसबारे राय माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?