प्रधान सेनापति राष्ट्रिय भलिबल हुने

काठमाडौं । प्रधान सेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता यही जेठ १९ देखि २६ गतेसम्म हुने भएको छ । 

सातै प्रदेशका टोली र तीन विभागीय गरी १० समूहको सहभागिता रहने उक्त प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा कूल २६ खेलसहित आयोजना गरिने छ । 

आज ‘आइतवार’ आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति शशिकिरण रायमाझीले विसं २०७२ देखि शुरु भएको उक्त प्रतियोगिताको चौथो संस्करण विसं २०७५ मा हुनुपर्नेमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भएका कारणले हुन नसकेको जानकारी दिए ।

खेलकुद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र यसमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका प्रतियोगितामा खेलाडीको प्रतिनिधित्व गराउने उद्देश्यले विभिन्न खेल सञ्चालन गर्दै आएको सेनाले अन्तरराष्ट्रिय विश्व भलिबल सङ्घद्वारा पारित नियमानुसार खेलाइने जनाइएको छ ।  खेल लिग, कम र नकआउटका आधारमा बेष्ट अफ फाइभमा खेलाइने छ । 

उक्त प्रतियोगितामा प्रथम टोलीलाई तीन लाख, द्वितीयलाई एक लाख ५० हजार र तृतीयलाई ७५ हजार सहित शिल्ड र   पदक प्रदान गरिनेछ  भने उत्कृष्ट छ जनालाई  जनही १० हजार दिइनेछ । त्यस्तै सर्वोकृष्ट खेलाडीलाई पल्सर मोटरसाइकलबाट पुरस्कृत गरिनेछ ।

सहभागी सात प्रदेशका टोलीमा राष्ट्रिय खेलकूद परिषद्सँग आबद्ध प्रशिक्षक÷सहायक प्रशिक्षकको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था मिलाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?