गरिमा विकास बैंकको सिइओमा माधवप्रसाद उपाध्याय नियुक्त

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रहेका उपाध्यायलाई बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सिइओमा नियुक्त गरेको हो । उनको कार्यकाल आगामी वैशाख १ गतेबाट लागू हुने बैंकले जनाएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए । उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न रहेका थिए ।

बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसंगै २०८१ बैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायब प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै, सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई मिति २०८० चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।


काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?