सहकारी ठगी प्रकरणको आरोपबारे गृहमन्त्रीले राज्यव्यवस्था समिति बैठकमा के भने ?

लोकपथ
182
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणबारे आफूूमाथि लागेको आरोपका विषयमा राज्य व्यवस्था समिति बैठकमा जवाफ दिएका छन् ।

आज बसेको समितिको बैठकमा समितिका सदस्यहरुले सो विषयमा आवाज उठाएका थिए ।

सो विषयमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले आफूविरुद्ध परेको जाहेरीमा आफ्नो नाम बाहेक केही पनि तथ्य प्रमाण उल्लेख नरहेको बताए ।

‘जहाँ मेरो नाम छ भनिएको छ त्यहाँ मेरो नाम बाहेक केही पनि छैन । अर्थात् न हस्ताक्षर छ, न ल्याप्चे छ, न मैले कुनै निवेदन दिएको छु । मेरो केवाइसी सामान्य रुपमा मात्रै भरिएको छ । न मैले कुनै पत्र पाएको छु, न कुनै अनुसन्धान भएको भन्ने कुरा थाहा छ ।’ लामिछानेले भने ।

त्यसैगरी आफूविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको र आफू त्यसमा प्रतिवादी पनि नभएको र प्रतिवादीहरुले आफ्नो नाम कतै पनि नमुछेको समेत जिकिर गरे । आफूविरुद्ध ठाडो उजुरी मात्रै परेको र त्यो सूचनाका आधारमा प्रहरीले ग्रहण गरे पनि प्रहरीले त्यसलाई दर्ता समेत नगरेको बताए ।

‘मैले सुने अनुसार त्यो मुद्दा अदालतमा दर्ता पनि भैसकेको छ । अदालतमा दर्ता भएको सो मुद्दामा म प्रतिवादी छैन । अदालतमा दर्ता भएका मुद्दामा भएका प्रतिवादीहरुको बयानमा पनि मेरो रवि लामिछाने भन्ने नाम उल्लेख भएको मलाई जानकारी छैन । एउटा जाहेरी छ त्यो सूचनाका रुपमा प्रहरीले ग्रहण गरेको बाहेक प्रहरीले दर्ता पनि गरेको छैन भन्ने मलाई जानकारी आएको छ ।’ उनले भने ।

त्यसअघि बोलेका प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले लामिछानेको विरुद्ध परेको उजुरीमा तथ्य प्रमाण केही पनि नभएको बताएका थिए । त्यस्तै उनले गृहमन्त्री लामिछाने कानुनी दायरामा उभिने कुनै पनि तथ्य प्रमाण कहिँ कतै नरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?