आर्थिक अनियमिततामा मुछिएका प्रमुख सेनानी कार्की बर्खास्त

काठमाडौं । नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुखलाई बर्खास्त गरिएको छ । 

कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्तीमा परेका हुन् । 

शुक्रवार जनरल समरी सैनिक अदालतले कार्कीलाई दोषी ठहर गरेको छ । 

साथै सैनिक अदालतले सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन आदेश समेत दिएको छ । 

आदेशलगत्तै उनलाई केन्द्रीय कारागार (जगन्नाथदेवल) चलान गरिएको स्रोतले बतायो ।

कालिसिद्धी गणमा रहँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको ४९ लाख रकम अनियमितता गरेको आरोप कार्कीमाथि छ । 

उनी विरुद्ध गत वैशाख पहिलो साता उजुरी परेको थियो ।

उजुरीपछि गठन भएको ‘कोर्ट अफ इन्क्वाइरी’ले प्रमुख सेनानी कार्कीको कैफियत देखाउँदै ‘कोर्ट मार्सल’ का लागि सिफारिस गरेको थियो । 

जसको आधारमा वैशाख २३ मा समरी जनरल सैनिक अदालत गठन भएको थियो ।

अदालतले कार्कीलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि बढाएको थियो । छानविनपछि प्रधानसेनापति पूर्णचन्द्र थापालाई निष्कर्ष सुनाइएको थियो ।सैनिक स्रोतका अनुसार थापा

बाट अदालतको फैसला सदर भएपछि शुक्रवार आदेश सुनाइएको दाबी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?